बाजुरा ःजिल्लाको बुढीगंगा नगरपालिकाले बाम्का बजारमा गएको शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई पाँच लाख सहयोग गर्ने भएको छ ।
आईतबार बुढीगंगा नगर कार्यपालिकाको ४४ औं कार्यपालिकाको बैठकले प्रभावित बनेकालाई राहतका लागि पाँच लाख रकम दिने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । नगरपालिकाको बैठकले पीडितका लागि स्थापना गरेको राहत कोष व्यवस्थापनमा जम्मा गरेर वितरण गर्ने भएको छ ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिले सिद्धार्थ बैंकमा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरेर राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् । राहत कोषमा अन्य पालिका र विभिन्न संघ संस्थाहरुले सहयोग गर्न थालेको छन् ।
आगलागीबाट ठुलो नोक्सानी भएकाले सबैलाई सहयोगमा लागि राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँले अपिल गरेका छन् । उनले बाम्का बजार पुरानै अवस्थामा ल्याउनका लागि निर्माण कार्यमा पनि जुटेको बताएका छन् ।
एक महिनाभित्र टहराहरु निर्माण गरी बजार सञ्चालनमा आउने गरी काम सुरु गरिएको नगर प्रमुख तथा राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँको भनाई रहेको छ ।
गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ पसलहरु जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
आगलागीबाट सात पसल भने आंशिक रुपमा क्षती भएका छन् । आगलागीबाट करोडौं धनमालको क्षति भएको छ । क्षतिको एकिन विवरण अझै आउन सकेको छैन् ।
प्रतिक्रिया