बाजुरा ः शुक्रबार बुढीगंगा नगरपालिका-६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसलहरु पुरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्यांक अनुसार सबै भन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख,छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउँदको एक करोड ५० लाख क्षति भएको प्रहरीले संकलन गरेको प्रहरी निरिक्षक चौधरीले बताएका छन् ।
आगलागीबाट दीपक साउँद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन् । आगलागिबाट फैन्सी पसल मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटलहरु जलेर नष्ट भएका छन् । आगलागीबाट भगतराज गिरीको सु.प.प्र०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटमा ग्यास सिलिण्डर पड्किएर आगलागि भएपनि स्थानीय तहले अग्नी नियन्त्रण दमकल खरिद नगर्दा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् । स्थानीय तहहरुमा दमकल कम क्षति हुनबाट जोगिने थियो पीडितको भनाई रहेको छ ।
प्रतिक्रिया