बाजुरा ः बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी सुदूरपश्चिम प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।
बुढीगंगा नगरपालिका-६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । आगलागीबाट ४० पसल जलेर नष्ट भएका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या सहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताएका छन् ।
आगलागीबाट पीडित भएकाहरुको क्षतिपुर्तिका लागि प्रहरीलाई तथ्याङ्क संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र संघीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले गौमुल खबर डटकमसंग बताएका छन् ।
घटनास्थलको अध्ययनपछि सोही नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल सहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण संकलन गर्ने र सो क्षतिपुर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथ साथै विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगर प्रमख अमरबहादुर खड्का, प्रतिनिधि सभाका पूर्व सांसद लाल बहादुर थापा, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली लगायतको सहभागीता रहेको थियो ।
बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ ।
जिल्लाका ९ वटै पालिका मध्ये केही पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव रहेको छ । आगलागीबाट करौडौंको क्षति भएको छ ।
प्रतिक्रिया