काठमाडौं : पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ ।
पार्टीका अध्यक्ष नेपालविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको सूचना एकीकृत समाजवादी पार्टी पंक्तिलाई पहिल्यै थाहा थियो । तर विशेष अदालतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरु नै अलमलमा परेका छन् । अहिले पार्टीका पदाधिकारीहरू केन्द्रीय कार्यालय आलोकनगरमा भेला भएका छन् ।
‘नेताहरु छलफलमा जुटेका छौं । तर पार्टी अध्यक्ष रौतहटमा हुनुहुन्छ, उहाँ आएपछि बैठक बस्छौं’, एक पदाधिकारीले भने । अध्यक्ष नेपाल काठमाडौं आउने तयारीमा छन् । माधव नेपाल आएपछि बैठक राखेर एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।
तर पार्टीको औपचारिक निर्णय नआउँदा नेता तथा कार्यकर्तामा अन्योल देखिएको छ । ती पदाधिकारी भने चाँडै निर्णय आउने भएकाले धेरै अलमलमा बस्नु नपर्ने बताउँछन् । ‘भरेभोलि हाम्रो धारणा आइहाल्छ, अलमल धेरै रहँदैन’, ती पदाधिकारी भन्छन् । अकस्मात् मुद्दा दर्ता भएकाले केन्द्रीय कार्यालय सुनसान जस्तै छ ।
प्रतिक्रिया