काठमाडौं : रूसले युक्रेनमा आज बिहान मिसाइल र ड्रोन हमला गरेको छ। राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुसले राति फेरि अर्को ठूलो ड्रोन र मिसाइल आक्रमण गरेपछि युक्रेनभरि धेरै विस्फोटका आवाजहरु सुनिएका छन्। बीसीका अनुसार शुक्रबारदेखि युक्रेनमा रुसी हवाई आक्रमणमा देशभरि कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना सर्वसाधारण घाइते भएका छन्।
युक्रेनको वायुसेनाका अनुसार रुसले किभविरुद्ध मात्र २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण आवासीय भवनहरूमा आगो लागेको छ। राजधानीमा कम्तिमा १४ जना घाइते भएका छन्। यो युद्ध सुरु भएदेखि शहरमा भएको सबैभन्दा ठूलो संयुक्त हवाई आक्रमणमध्ये एक थियो।
वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालेको बताएको छ। रुसले आइतबार बिहानै गरेको युक्रेनी ड्रोन आक्रमणको सामना गरेको र मस्कोलाई लक्षित गरी राखिएका लगभग १०० मानवरहित युक्रेनी हतियारहरूसहित रोकेको र नष्ट गरेको जनाएको छ।
शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा भनेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो।’ किभका मेयर विटाली क्लित्स्कोले धेरै आवासीय भवनहरू ध्वस्त भएको बताएका छन्।
प्रतिक्रिया