गाैमुल खबर डटकम बिहीबार २९, जेठ २०८२ ०२:१८

आस्थाको भर बडीमालिका मन्दिर निर्माण हुदैं

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ०५, २०८२
आस्थाको भर बडीमालिका मन्दिर निर्माण हुदैं

बाजुरा ः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गर्ने भएको छ । बडीमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिएका छन् । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भएको भएपनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन ।

अहिले भने नेपाली सेना आफैंले मन्दिर निर्माण सुरु गरेको पाध्यायले बताए । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भएपनि निर्माण हुन सकेको थिएन । यसअघि ठेक्का लागिसकेर पनि काम हुन नसकेको पुजारी पाध्यायले बताए । ‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

badimalika1.jpg

तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको छ,’ उनले भने । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको छ । पुजारीका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो ।

सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण भइरहेको छ । दुई महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने तयारीमा नेपाली सेना रहेको छ । पुरातत्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टमेटमा मन्दिर निर्माण हुन लागेको सेनाले बताएको छ । रकम भने नेपाली सेनाको कोषबाट खर्च हुने भएको छ । खर्च हुने रकमका बारेमा भने सेनाले कुनै प्रतिक्रिया दिएको छैन् ।

निर्माणपछि सबै सार्वजनिक गर्ने सेनाले बताएको छ । सेनाले धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षण अन्तर्गत मन्दिर निर्माण गर्न लागेको बताएको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग हुने भएको छ । तराईको सालको काठ प्रयोग हुने पुजारीले बताएका छन् । बडीमालिका प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा लाग्ने गर्दछ ।

विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडीमालिका क्षेत्रको भ्रमण गरेका छन् । देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धाम मध्ये बडीमालिका एक धामका रूपमा चिर परिचित रहेको छ ।

सुन्दरताले भरिएको धर्तीको स्वर्ग

५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका। अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन् । ४ महिना हिउँले ढाक्ने गर्दछ । वर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास रहेको छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडीबुटीहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको संगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् ।

बडीमालिकाको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ । बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भँेडा र घोडा खच्चडका बथानहरु वर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका वन्यजन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् ।

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ। यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतबेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहीँ आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् । बडीमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ ।

बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । बडीमालिकामा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो ।
 

प्रतिक्रिया