बाजुरा ः परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद विरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियान तथा आमभेला कार्यक्रम आयोजना गरिएको छ ।
आफ्ना लागि आफै, दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका केन्द्र सुइजिउला वाईमा उक्त अभियानको प्रारम्भ गरिएको छ ।
स्वामीकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया सञ्जालको आर्थिक र प्राविधिक सहयोगमा आफ्ना लागि आफै, दलितका लागि दलित अभियान बाजुराको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको अभियानका अध्यक्ष दीपक कडाँराले बताएका छन् ।
वर्षौदेखि समाजमा विद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध विरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उदेश्यले जागरण अभियान आयोजना गरिएको हो । अभियान अब जिल्लाभर यो कार्यक्रमलाई निरन्तरता दिईने भएको छ ।
कार्यक्रममा जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधि, कुण्डाक्षेत्रका दलित समुदायका अगुवा संगै स्थानीय दलित समुदायबीच प्रणालीगत विभेद, न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमी जस्ता विषयमा व्यापक रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दलित समुदाय माथि उपल्लो भनिने जातले सधै दमन र उत्पीडनमा राखेर विभेद गरेको र राज्यको मौनताबारे दलित समुदाय एकजुट भएर देशैभर जागरण अभियानको आवश्यकता औंल्याएका छन् ।
विभेदका विरुद्ध राजनीतिक दलभन्दा माथि उठेर वर्गीय लडाई बाजुरामा लड्न आवश्यक रहेको धारणा राखेका छन् । अभियानका अध्यक्ष दीपक कडाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र अगुवा अतिथिका रुपमा सहभागी बनेका हुन् ।
अभियान शुभारम्भ स्वामीकार्तिक खापर गाउँपालिकबाट सुरु गरेर जिल्लाभर सञ्चालन गरिने बुझिएको छ । हालसम्म सबै राजनीतिक दलले दलित समुदायलाई प्रयोग मात्र गर्ने गरेका छन् ।
प्रतिक्रिया