गाैमुल खबर डटकम मङ्गलबार ३०, बैशाख २०८२ ००:४५

६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २५, २०८२
६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा

धनगढी ः बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६/१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो । विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध धनगढी उपमहानगरपालिका-३, विशालनगरका ६५ वर्षीय गणेश बहादुर सिंह थिए ।

टाइ-बेल्ट, कालो जुत्तामा चिटिक्क परेका उनको जोश कुनै किशोरावस्थाको विद्यार्थीभन्दा कम थिए । उनी पनि तिनै किशोरकिशोरीहरुसँग कक्षा १२ को परीक्षा दिएर फर्किरहेका थिए । उनी नेपालमा १२ को परीक्षा दिने सबैभन्दा पाका उमेरका विद्यार्थी हुन् । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै पूर्व शिक्षक सिंहको अध्ययनप्रतिको इच्छा उमेरले रोकेन ।

२०१७ सालमा बझाङको बुंगल नगरपालिका (साविक कफलसेरी गाविस-४) मा जन्मिएका सिंहको बाल्यकालदेखि नै पढ्ने ठूलो इच्छा थियो । २०३६ सालमा स्थानीय सरस्वती हाई स्कुल, विजगडाबाट एसएलसी पास गरे पनि पारिवारिक जिम्मेवारीले उनलाई अगाडि बढ्न दिएन । चार बहिनी र पाँच भाईमध्ये जेठा सन्तान भएकाले घरधन्दा उनकै काँधमा पर्‍यो । दुई वर्षसम्म व्यवसायमा लागे । तर मन शान्त भएन । ‘पढ्न त पाइएन, तर अरूलाई पढाउँछु भनेर व्यापार छोडें,’ सिंह सम्झिन्छन् ।

०३९ सालमा गाउँकै महादेव निमाविबाट शिक्षण पेसा सुरु गरे । ३६ वर्षको शिक्षकीय सेवामा १२ वर्ष बालकोटको माझिवन विद्यालय र १२ वर्ष दुर्गा आधारभूत विद्यालय, चिल्ठामा प्रधानाध्यापकका रूपमा काम गरे । २०७७ सालमा दुर्गा आधारभूतबाटै सेवानिवृत्त भए। सिंह अहिले सेवानिवृत्त जीवनलाई विश्राम होइन, पुनः अध्ययनको अवसरका रूपमा उपयोग गरिरहेका छन् ।

‘शिक्षक भएर अरूलाई सिकाएँ, अब आफ्नै सिक्ने पालो आयो’, उनले मुस्कुराउँदै भने । २०४६ सालमा सिंहको परिवारमा कानुनी झमेलाले ठूलो तनाव ल्यायो । विवाद अदालतसम्म गयो । झण्डै आठ वर्षसम्म मुद्दा चल्यो। यसले सिंह परिवारको समय र पैसा दुवै गुम्यो । त्यहीबेला उनलाई लाग्यो ‘हामीले कानुन नबुझेकै कारण यो सब भयो ।त्यसपछि उनले अठोट गरे ‘अब कानुन बुझेर मात्र होइन, कानुन विषय पढेरै जान्छु ।’

तर अठोट लिए जस्तो पढ्न सजिलो थिएन । समय व्यवस्थापन उनका लागि ठूलो चुनौती थियो । बझाङमा रहँदा कानुन पढ्न सम्भव थिएन । २०७७ मा रिटायर्ड भएपछि परिवारसहित कैलाली सरे । २०८१ सालमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) मा कक्षा ११ मा कानुन विषय लिएर भर्ना भए ।

उनी नियमित रुपमा झोला र किताब बोकेर विद्यालय उपस्थित भए । ‘मैले राम्रै अंक ल्याएर ११ कक्षा पास गरेँ,’ उनी सुनाउँछन् । विद्यालय पोसाकमा देख्दा सुरुमा अरू विद्यार्थी, शिक्षक सबै अचम्म मान्थे । कतिले हाँसे, मजाक पनि उडाए । तर त्यो कुराले सिंहको मनोबल घटेन । परिवारमा पनि छोरा र बुहारीले पढ्न हौसला दिए ।

श्रीमती भने सुरुमा खुसी नभएको उनी बताउँछन् । जीवनको उत्तरार्धमा भए पनि आफ्नो कानुन पढ्ने सपना पूरा भएकामा सिंह मख्ख छन् । कानुन सबैले बुझ्नुपर्ने र कानुनको अनविज्ञता कसैलाई क्षम्य नभएको उनी बताउँछन् । भन्छन्,‘यो उमेरमा पढेर वकिल त नबनुला तर कानुन सम्बिन्धी बुझेका कुरा सबैलाई सिकाउने छु ।’

प्रतिक्रिया