बाजुरा ः बुढीगंगा नगरपालिकाले नयाँ अभ्यास सुरु गर्ने भएको छ । नगरको समग्र विकास र समृद्धिका लागि जिल्लामै नयाँ अभ्यास सुरुवात गरिएको हो ।
सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” ०८२ कार्यक्रमको आयोजना गरिने भएको छ ।
आगामी वैशाख २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको योजना रहेको छ ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार भन्ने मुख्य नाराका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।
नगर प्रमुख बाँनिया भने, ‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र संकल्प रहेको गौमुल खबर डटकमसंग बताएका छन् ।
बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने नगर उपप्रमुख माया खड्का कुवँर बताएकी छन् ।
विकास कचहरी कार्यक्रममा बुद्धीजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणापत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने भएको छ ।
स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद हुने नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।
जिल्लामै बुढीगंगा नगरपालिकाले नयाँ अभ्यासको सुरुवात गरेको भन्दै प्रशंसा बढ्न थालेको छ । सबै दल एक ठाउँमा ल्याएर विकासको खाका बन्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया