बाजुरा : बुढीगंगा नगरपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उत्कृष्ट श्रमिकलाई सम्मान तथा मर्यादित श्रमबारे अभिमुखिकरण कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।
श्रमको सम्मान, राष्टको अभियान भन्ने मुल नाराका मर्यादित श्रमिक, सरोकारका सवाल, श्रम सम्बन्धी कानूनी प्रावधान, रणनीति तथा मजदुरको इतिहास लगायतको बारेमा अभिमुखिकरण गरिनुको साथै ६ जना श्रमिकलाई सम्मान गरि दिवस मनाएको हो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण पालिका रोजगार सहायक टंक सिंहले गरेका थिए । दिवसको अवसरमा गत वर्ष उत्कृष्ट काम भएका योजनाहरुमा काम गर्ने श्रमिकहरुलाई प्रोत्साहनका लागि सम्मान गरिएको सिंहले बताएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाका प्रधानमन्त्री राेजगार कार्यक्रमबाट सम्पन्न २० वटा आयाेजना मध्ये उत्कृष्ट काम भएकाे ब्रह्मताेला गाउँदेखि बसन्त आवि सम्म बाटाे निर्माण गर्ने श्रमिक समूह र ६ वर्ष मलेसियामा आर्जन गरेकाे सिप र पुँजीको पालिकामै सदुपयोग गरी बेतालमाण्डाै बजारमा अर्गानिक काेदाेकाे चाउमिन उद्याेग सञ्चालन गरेका एक जना युवा उद्यमीलाइ समेत सम्मान गरिएकाे उनले बताए ।
गुणस्तरीय काम गरी उत्कृष्ट योजना बनाउन सफल भएका श्रमिक कविता अयडी, साधना थापा, राधिका खत्री, काँसि कटुवाल, गौरादेवी भण्डारी, हिमाल विकलाई बुढीगंगा नगरपालिकाका प्रमुख राम बहादुर बानियाँले २ हजार १ सय २५ रुपैयाँ नगदसहित अविर र खादाले सम्मान गरेको हो ।
कार्यक्रममा करिब ६ वर्षसम्म विदेशमा काम गरी हाल गाउँमै अर्गानिक चाउमिन उद्योग सञ्चालन गरिरहेका उद्यमी दयाराम रेग्मीलाई पनि सम्मान गरिएको छ । सिकेको सिप सदुपयोग गरी आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको भन्दै प्रोत्साहनका लागि २ हजार ५ सय ५० रुपैयाँ नगदसहित खादा, अविरले सम्मान गरेको थियो ।
अभिमुखिकरण र सम्मान कार्यक्रमपछि नगरपालिकाको भवन परिसरमा बगैँचा निर्माणसहित फूल रोप्ने काम गरिएको थियो । कार्यक्रममा नगर उप-प्रमुख माया कुवँर खड्काले उत्कृष्ट काम गर्ने श्रमिकलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको बताएकी छन् । दिगो विकासका लागि सबैले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै श्रमिकलाई सम्मान ज्यालाको सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी छन् ।
त्यस्तै नगर प्रमुख राम बहादुर बानियाँले युवाहरुलाई व्यवसायिक बनाउँने लक्ष्य आफूहरुकाे रहेको बताएका छन् । अघिल्लो पुस्ताले निकै दुःख कष्ट गरेर आधि जीवन अध्यारोमा गुजारे, अहिले प्रविधिबाट सबै कुरा एकै ठाउँमा भेटाउँन र ज्ञान लिन सकिने भएपनि पछिल्लो पुस्ताले काम गर्न नसकेको बताएका छन् ।
प्रविधिसंग जोडिएर आफ्नो जीवनलाई फाईदा हुने खालका विभिन्न आय-आर्जनका कामहरु गर्न आग्रह गरेका छन् । पछिल्लो समय शिक्षित युवाहरु विदेश पलायन भईरहेका बताउँदै युवा युवतीहरुलाई सिपसंगै उत्पादनमा बढी जोड दिन आवश्यक रहेको बताएका छन् ।
दक्षता नहुँदा ज्यामि बाहिरबाट ल्याउनु पर्ने अहिलेको बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न दक्ष जनशक्ति उत्पादनका लागि नगरपालिकाले नयाँ अभ्यास थालेको नगर प्रमुख बानियाँले बताए । सक्षम जनशक्ति उत्पादनका लागि सिप विकास केन्द मार्फत प्रयास अगाडी बढाएको उनको बताए ।
नगर प्रमुख बानियाँकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपप्रमुख माया कुवँर खड्का, प्रमुख प्रशासकीय अधिकृत अमर राज जोशी, १० वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, पालिका रोजगार सहायक टंक सिंह, कर्मचारी, श्रमिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाको सभाहलमा सञ्चालन गरिएकाे थियो ।
प्रतिक्रिया