गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४१
Dho

भीमदत्त राजमार्ग खुल्दै अनि पुनः पटक-पटक अवरुद्ध हुँदै

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन ३०, २०८०
भीमदत्त राजमार्ग खुल्दै अनि पुनः पटक-पटक अवरुद्ध हुँदै

धनगढीः पहिरोका कारण एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग सुचारु गर्न सकस भइरहेको छ। निरन्तर वर्षासँगै स–साना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग निर्वाध रुपमा सुचारु गर्न समस्या भइरहेको हो। पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिए पनि अहिले यातायात सेवा ठप्प छ।

वर्षाले ट्रयाक हिलाम्य भएर गाडी फस्न थालेपछि यातायात आज दिउँसो १ बजेदेखि ५ बजेसम्म काम गर्ने भनेर यातायातका साधन रोकिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कैलालीको गोदावरी र बुढीतोलामा गत सोमबार राति पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको थियो। पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त बनेको छ।

सडक पूरै बगेको ठाउँमा ट्रयाक खोलिएपछि राजमार्ग आंशिक रूपमा केहि समय चलेपनि हिलो भएको ठाउँमा जालीमा ढुंगा हाल्नुपर्ने भएकाले दिउँसो १ बजेदेखि ५ बजेसम्मका लागि सवारी साधनलाई रोक्ने काम भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। प्रहरीका अनुसार आइतबार बेलुका, सोमबार र आज मध्याह्नसम्म एकतर्फी रुपमा यात्रुवाहक र मालवाहक केही सवारीसाधन ओहोरदोहोर गरेका छन् ।

हिलोमा गाडीहरू फस्न थालेपछि बिचबिचमा समस्या हुने गरेको प्रहरीले जनाएको छ। गाडी सञ्चालन रोकेर हिलोले गाडी फस्ने ठाउँमा तारजाली र ग्राभेल हाल्ने काम भइरहेको पहिरो पन्छाउने कार्यमा खटिएका सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर तारानाथ सिग्देलले बताए। आज बेलुकी ५÷६ बजेपछि पुनः यातायात सुचारु हुने गरी काम भइरहेको उनले बताए। सोमबार र मंगलबार केही गाडी ओहोरदोहोर गराइएको सडक डिभिजनले जनाएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख होमप्रसाद सुवेदीले हिलोका कारण केही ठाउँमा समस्या भए पनि केहि समयका लागि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको बताए। आइतबार बेलुकी, सोमबार र आज १२ बजेसम्म यात्रुवाहक र मालवाहक सवारीसाधन ओहोरदोहोर गरेको उनले बताए।

ठूलो पहिरो गएको र करिब सय मिटर सडक बगेकाले दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजनले जनाएको छ। बर्खापछि मात्र दोहोरो यातायात सञ्चालन गर्न सकिने सुवेदीले जानकारी गराए। सडक डिभिजनले पाँचवटा डोजर लगाएर राजमार्ग सुचारु गर्ने प्रयास गर्दै आएको छ।

प्रतिक्रिया