गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०१:०३

बुढीगंगा नगरपालिका-९ मा भूमिहिनलाई निस्सा वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १७, २०८२
बुढीगंगा नगरपालिका-९ मा भूमिहिनलाई निस्सा वितरण

बाजुरा ः बुढीगंगा नगरपालिका-९ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरणको काम सुरु गरिएको हो ।

भूमि समस्या समाधान आयोग बाजुराको समन्वय नगर सरकारको आयोजनामा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासी गरी १२ जनालाई निस्सा वितरण गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

आफुहरुकै पालामा नगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने योजना रहेको नगर उपप्रमुख माया खड्का कुवँरले बताएकी छन् । जमिन तथा घर भएका तर नाममा नभएका सबैलाई लालपूर्जा वितरण गरिने भएको छ ।

नगरपालिकामा निस्सा प्राप्त गर्ने भूमिहिनलाई वडा कार्यालयले ऐलानी तथा अन्य जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर लालपूर्जा वितरणको कार्य सुरु गरिने भुमि समस्या समाधान आयोगका जिल्ला सदस्य मनदेवी ओलीले बताएकी छन् ।

निस्सा वितरण कार्यक्रममा नगर प्रमुख रामबहादुर बाँनिया, नगर उपप्रमुख माया खड्का कुवँर, भूमि समस्या समाधान आयोगका सदस्य मनदेवी ओली, बुढीगंगा सीप विकास केन्द्रका कार्यकारी प्रमुख महेश जैशी, मीन बुढा लगायतको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया