गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:०१
Dho

बाजुरामा वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर एक वृद्धाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन ३०, २०८०
बाजुरामा वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर एक वृद्धाको मृत्यु

बाजुरा : वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामीकार्तिक  खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक  खापर गाउँपालिका–१ मुक्तिकोट बस्ने ६५ वर्षीया वृद्धा गवा विक रहेकी छन् । वृद्धभत्ता बुझेर घर फर्किने क्रममा रुडी खोलाले बगाएर विकको मृत्यु भएको हो । उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै थिइन् ।

लगातारको पानीले रुडी खोलामा पानीको बहाव बढेको थियो । अघिल्लो वर्ष लगाएको पुल समेत बगाएर खोला तर्नु बाहेक अर्को विकल्प थिएन् । खोला तर्नेक्रममा सँगैकाहरुले हात समातेकै अवस्थामा खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी दिएका छन् । ती वृद्धासँग स्थानीय जुद्ध विक र उनको परिवार, बुदे विक र उनको परिवार सहीतका अरुपनि थिए । पानी परिरहेको थियो । खहरे खोला भएपनि पानीको बहाव अरुदिनको भन्दा बढी थियो ।

सँगैकाहरुले एकएक गरि तार्नेगरिरहेकै अवस्थामा वृद्धा गवालाई खोलाले बगाएर लगेको आफन्त समेत रहेका स्थानीय धनसिंह विकले बताएका छन् । शव भने खोलाले बगाएको एक दिन पछि मंगलबार मात्रै भेटिएको हो ।  विक साउन २८ गते नै सुइजीउला आएकी थिइन् । छोरा बुहारी पनि पालिका केन्द्रमै बस्ने भेटघाट पनि हुन्छ, बैंकबाट पैसा लिएर पनि घर फर्किने उदेश्य सहीत गएकी विकलाई खोलाले बगाएर कहिल्यै नफर्किने गरि लगेको छ । घटना साउन २९ गते दिउँसो २ बजे पछि घटेको हो । अघिल्लो दिन छोरा बुहारीसँगै बसेपछि घर एक्लै फर्किएकी थिइन् ।

छोरा बुहारी घटना थाह पाइसकेपछि मात्रै गएका हुन् । विहान बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा मृत्यु भएको हो । पालिका केन्द्र सुइजिउला पुग्न मुक्तीकोटबाट कम्तीमा ४ घण्टा लाग्ने गरेको छ । तर वृद्धवृद्धाहरुका लागि भने ६ देखि ८ घण्टा हिँड्नु पर्ने बाध्यता छ । जुन कारण अकालमै ज्यान गुमाउनु पर्ने, दुख, कष्ट र सास्ती भोग्नु पर्ने बाध्यता स्थानीयलाई छ । पालिकाले सामाजिक सुरक्षा भत्ता र जेष्ट नागरिक, एकल महिला सहीत सबैप्रकारको भत्तालाई बैंक मार्फत मात्रै लिनु पर्ने प्रावधान छ ।

भत्ताकै लागि जानेहरुले धेरै दुख पाउने गरेका छन् । वडा कार्यालयको सिफारिस र वडा अध्यक्षको रोहबर र आफ्नै छोराहरुको परिचय खोल्नु प्रमाणका आधारमा भने बैंकले दोस्रो व्यक्तिलाई पनि दिने गरेको छ । भत्ता बुझ्नकै लागि मात्रै आएर ज्यान गएको नभई छोरा धनराज विक र दुर्गा विकलाई भेट्ने गरि आएकी वृद्धा घर फर्किने क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

गाह्रै हुने परिवार र व्यक्तिका लागि अति अशक्त वृद्धवृद्धाका लागि वडा अध्यक्ष वा छोरा बुहारीलाई पनि दिन मिल्ने गरि निर्णय गरिदिएकोले भत्ता बुझ्न आएकै कारण मृत्यु भएको भन्न नमिल्ने अध्यक्ष रोकायाको भनाई छ । पालिका पक्की पुल निर्माण गर्न नसक्दा पनि स्थानीयले हरेक वर्ष सास्ती भोग्न बाध्य छन् । काठेपुल हालेपनि एक सिजन पनि टिक्दैन् । मुक्तीकोटमा करिब ३ सय ३० बढी परिवारको बसोबास छ ।

सबैले सामाजिक सुरक्षा भत्ता, एकल र वृद्धभत्ता बुझ्नका लागि चौमासीक रुपमा पालिका केन्द्र जानु पर्ने बाध्यताका कारण मान्छेको ज्यान समेत जाने अवस्था आएको स्थानीय धनसिंह विकले बताएका छन् । पुल निर्माण गरेको वा पालिकाले प्रत्येक वडामै बैंकका प्रतिनिधी पठाएर वितरण गर्ने गरेको भए, यस्ता घटनामा कमी हुने भएकोले त्यसतर्फ पालिका सरकारले ध्यान दिनु पर्ने सामाजिक अगुवा समेत रहेका स्थानीय मनबहादुर रोकायाले बताएका छन् । 

वृद्धभत्ता बुझेर फर्किने बेला खोलामा बगेर ज्यान गुमाउनु परेको घटनालाई लिएर पालिका सरकारको चर्को आलोचना भएको छ । एकातिर राज्यले संरक्षण गर्ने नीति लिएर सुरक्षा भत्ताको व्यवस्था गरेको छ । भने अर्कोतिर सास्ती दिने नियमले नागरिकले थप दुख पाउने गरेका छन् ।  

प्रतिक्रिया