बाजुरा ः गरिबी निवारण कोष खारेज भएको तीन वर्ष बितिसक्यो । कोषको काम रोक्का भएको त ६ वर्ष पुगिसक्यो । घुम्ती कोष, सामुदायिक साझेदारी कोष, भौतिक पूर्वाधार र कार्यक्रम सञ्चालन भएका सामुदायिक संस्थाको नाममा गरी गरिबी निवारण कोषले २०७५ पुससम्ममा १९ अर्ब ३७ करोड लगानी गरेको थियो ।
यो रकम अहिले कता छ भन्ने संघीय सरकारलाई पनि थाहा छैन् । बुढीगंगा नगरपालिका-६ बेलकाटियामा रहेको गरिबी निवारण कोषको करिब १५ लाख रुपियाँ समितिकै व्यक्तिहरुले हिनामिना गरेको आरोप लागेको छ ।
पीसविन नेपालद्धारा सञ्चालित गरिबी निवारण कोषको रकम समितिकै व्यक्तिहरु मिलेर विगत लामो समयदेखि गुपचुपमै राखेको आरोप स्थानीयको रहेको छ । कोष खारेज हुँदा ६४ जिल्ला र ५ सय ५१ पालिकामा कार्यक्रम सञ्चालनमा थिए ।
देशभर सामुदायिक संस्थाको संख्या ३२ हजार २ सय ७६ थिए भने लाभान्वित घर धुरीको संख्या ८७ लाख ९ हजार ८ सय ३९ थिए । गरिबी निवारण कोषले दुई तरिकाले लगानी गर्ने गरेको देखिन्छ । समुदायको औशत १० प्रतिशत लगानी हुन्थ्यो भने कोषको औशत ९० प्रतिशत रहेको थियो ।
उतिबेला गिफ्ट नेपाल, पीसविन नेपाल, एच.आर.सी.बाजुरा लगायतका गैरसरकारी संस्थाद्धारा गरिबी निवारण कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेको थियो । बेलकाटिया गाउँमा समितिकै व्यक्तिहरुको नाममा ऋण देखाएर विगत पाँच वर्षदेखि १५ लाख रुपियाँको कुनै हिसाब किताब समेत नरहेको स्थानीय भुवनराज उपाध्याले बताएका छन् ।
उता गरिबी निवारण कोष बेलकाटियाका अध्यक्ष काँशीप्रसाद पाध्याले पीसविन नेपालले समेत काम गर्न छोडेपछि लेखापरीक्षण र बचत समेत गर्न बन्द भएको स्वीकार गरेका छन् । रकममा बद्मासी नभएको र सबै ऋणमा रहेको उनको भनाई रहेको छ । अध्यक्ष पाध्याले आफुले केही रकम ऋण लिएको आरोप भने स्वीकार गरेका छन् । रकमको यथार्थ विवरण स्थानीयलाई देखाउनुपर्ने माग गरेका छन् ।
त्यस्तै सोही व्यक्तिहरुले शेराबगर (डाढ) समितिको करिब ५ लाखमा समेत बद्मासी गरेको स्थानीयको आरोप रहेको छ । खेतीयोग्य जमिनमा ढुंगा र बालुवा विक्री गरे वापतको ५ लाख रकम उठेको बताईएको छ ।
जिल्लामा गरिबी निवारण कोषको रकम साविककै गाविसमा सञ्चालनमा रहेको थियो । उक्त रकम स्थानीय सरकारलाई नियमन गर्न जिम्मेवारी दिईएको थियो । रकम कतिपय ठाउँमा समितिकै केही व्यक्तिहरुले हिनामिना गरेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया