बाजुरा ः बुढीगंगा नगरपालिका-७ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरणको काम सुरु गरिएको हो ।
भूमि समस्या समाधान आयोग बाजुराको समन्वय नगर सरकारको आयोजनामा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासी गरी १७ जनालाई निस्सा वितरण गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
आफुहरुकै पालामा नगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने योजना रहेको प्रमुख बाँनियाले बताएका छन् । जमिन तथा घर भएका तर नाममा नभएका सबैलाई लालपूर्जा वितरण गरिने भएको छ ।
नगरपालिकामा निस्सा प्राप्त गर्ने भूमिहिनलाई वडा कार्यालयले ऐलानी तथा अन्य जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर लालपूर्जा वितरणको कार्य सुरु गरिने भुमि समस्या समाधान आयोगका जिल्ला सदस्य मनदेवी ओलीले बताएकी छन् ।
वडा अध्यक्ष भुवनसिंह केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख नगर प्रमुख रामबहादुर बाँनिया रहेका हुन् । कार्यक्रममा नगर उपप्रमुख माया खड्का कुवँर, भूमि समस्या समाधान आयोगका सदस्य मनदेवी ओली विशिष्ट अतिथि रहेकी हुन् । बुढीगंगा नगरपालिका–७ को वडा कार्यालय बड्डेलीचौरमा एक कार्यक्रमकाबीच निस्सा वितरण कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया