बाजुरा : बाजुरामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु भएको छ । “शिक्षाले जीवन बचाउँन्छ, आपतकालिन अवस्थामा शिक्षाको रक्षा गरौँ” भन्ने मुल नाराका साथ आजदेखि बाजुरामा पनि सुरु भएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल जिल्ला शाखा बाजुराले विभिन्न सकारात्मक क्रियाकलापसहित शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरिएको अध्यक्ष मदन राज जैशीले बताएका छन् ।
आज जिल्ला सदरमुकाम मार्तडीमा नागरिक भेला कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा कार्य सप्ताह सुरु गरिएको उनले बताए । संविधानको मौलिक हकका रुपमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले शिक्षामा विनियोजित गरी सुशासन कायम हुनुपर्ने भन्ने आवाज सहित देशभर आजबाट एक सातासम्म अभियान मनाइने घोषणा गरेको अध्यक्ष जैशीले बताएका छन् ।
बैसाख १५ गते देखि २२ गतेसम्म सञ्चालन हुने कार्य सप्ताह कार्यक्रममा बाजुराले शिक्षाको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई पत्र पठाउने अभियान समेत सञ्चालन गर्ने भएको छ । उक्त अभियानले शिक्षाप्रति सरकार र सम्बद्ध निकायलाई जवाफदेही र उत्तरदायी बनाउन भूमिका खेल्ने अपेक्षा लिएको अध्यक्ष जोशीको भनाई छ ।
त्यस्तै पालिकामा आपतकालिन अवस्थामा नियमीत कक्षा सञ्चालन, पालिका स्तरीय शैक्षिक कार्यविधि निती तथा कार्यक्रम बारे पालिका स्तरमा छलफल संबिधानमा उल्लेख भएको शिक्षाको हकलाई कार्यान्वयन लगायतका क्रियाकलाप सञ्चालन गर्ने उनले बताए ।
सन् २०१५ मा नेपाल गायत विश्वका अधिकांस राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएकाले त्यसलाई पछ्याउँदै यो सप्ताह मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले जनाएको छ । शिक्षाका लागि विश्वव्यापी अभियानले नेपालसहित करिब १ सय ५० मुलुकमा एकैसाथ यो सप्ताह मनाउन सुरु गरेको छ ।
शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको सो अभियानलाई बाजुरा जिल्लामा रहेका गैरसरकारी संस्थाहरु गिफ्ट नेपाल, मानव संसोधन केन्द्र (एचआरसी) बाजुरा लगायतले आर्थिक तथा भौतिक सहयोग गरेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष मदन राज जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि, नागरिक अगुवा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया