गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ११:४४

युवाहरुलाई गरीखाने बनाउने संकल्प नगरको छ : प्रमुख बाँनिया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १५, २०८२
युवाहरुलाई गरीखाने बनाउने संकल्प नगरको छ : प्रमुख बाँनिया

बाजुरा ः बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले नगरका युवाहरुलाई गरीखाने बनाउने संकल्प नगर सरकारको रहेको बताएका छन् । तीन महिने आधारभूत कम्प्युटर तालिमको समापन कार्यक्रमको सम्बोधन गर्दै बाँनियाले नगरमा रहेका सबै युवाहरु गरीखाने र आत्मनिर्भर बनाउने बताएका छन् ।

बुढीगंगा नगरपालिकाले ७५३ वटा पालिका मध्ये आफ्नै स्वामीत्वमा रहेको बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको स्थापना गरेको बताएका छन् । नगरमा भएका कोरा युवा तथा बालबालिकाहरुलाई विभिन्न सीप दिएर गरीखाने र रोजगारमूलक बनाउने दृढ संकल्प रहेको बताएका छन् ।

एकवर्षमा २ सयदेखि ३ सय युवाहरुलाई सीप दिने, तालिम दिने र व्यवसायीक बनाउने योजना नगरको रहेको उल्लेख गरेका छन् । तालिम दिएका मध्ये ५० जना जति युवाहरुलाई आफै गरीखाने र आत्मनिर्भर बनाउने गरी नगर सरकार लागेको बताएका छन् ।

विपन्न तथा दलित र राज्यको मूल प्रवाहबाट पछाडी परेको समुदायका महिला तथा आमा दिदीबहिनीहरु सिलाइ कटाइ सिकेर दैनिक कमाउने गरी नगरको उपलब्धी भएको समेत बताएका छन् ।  बुढीगंगा नगरपालिकाले साविकका तीनवटै गाविसमा निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ । तालिमबाट युवाहरु थप प्रेरित हुने विश्वास नगरको रहेको छ ।

कार्यक्रममा बाल्दै नगर उपप्रमुख माया खड्का कुवँरले नगरले युवाहरुको बेरोजगारी समस्या हल गर्ने गरी विभिन्न सीप सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको बताएकी छन् ।

“मेरो सीप, मेरो रोजगारीको आधार” युवाहरुको आधुनिक डिजिटल प्रविधिमा सीप र पहुँच अभिवृद्धिका लागि युवाहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको हो ।

आधारभूत कम्प्युटर तालिमबाट केही ज्ञान प्राप्त भएको र थप केही गर्ने प्रेरणा जागेको भएको तालिममा सहभागी युवा सिर्जना रावलले बताएकी छन् । तालिमले केही गरीखाने वातावरण बनेको स्थानीय युवा शंकर थापाले बताएका छन् । 

ताप्रामा रहेको अल गुड डिसिजन सोलुसन कम्प्युटर इन्स्टिच्युका प्रमुख धर्म थापाले प्रशिक्षक भएर तालिम प्रदान गरेका हुन् । मीनबहादुर बुढाले सञ्चालन गरेको कार्यक्रममा २१ बढी युवाहरुले एकै पटक आधारभूत कम्प्युटर तालिम सिकेका हुन् ।

वडा सदस्य कल्पना थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रामबहादुर बाँनिया रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख माया खड्का कुवँर, बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रका कार्यकारी प्रमुख महेश जोशी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया