गाैमुल खबर डटकम मङ्गलबार ३०, बैशाख २०८२ ००:४२

मेलमिलाप तथा कानून सम्बन्धी एक दिवसीय संवाद बुढीगंगामा सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १५, २०८२
मेलमिलाप तथा कानून सम्बन्धी एक दिवसीय संवाद बुढीगंगामा सम्पन्न

बाजुरा ः बुढीगंगा नगरपालिकाले न्यायिक संवाद कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाका भित्र न्यायिक समितिको काम, कर्तव्य र अधिकार तथा प्रचलन कानुनका विषयमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबीच विषयविज्ञद्धारा संवाद सञ्चालन गरिएको नगर उपप्रमुख माया खड्का कुवँरले बताएकी छन् ।

कार्यक्रममा नगरपालिकाको न्यायिक समितिले गर्ने काम र वडामा गर्ने मिलमिलाप प्रक्रियाबारे जानकारी दिनुका साथै नागरिकलाई छिटो छरितो सेवाका  विषयमा संवाद तथा प्रशिक्षण कार्यक्रम गरिएको न्यायिक समिति संयोजक रहेकी खड्का कुवँरले बताएकी छन । उपप्रमुख तथा न्यायिक समितिका संयोजक माया खड्का कुवँरले आगामी दिनमा आफ्नो नगरपालिकाले कानुनको पूर्ण रुपमा पालना गर्ने बताएकी छन ।

न्यायिक समितिको भूमिका, मेलमिलापमा सचेतना, विवाद समाधान र सामुदायिक सहमतिको लागि मध्यस्थता प्रक्रियाको जागरूकता, नागरिक पहुँच र डिजिटल न्याय, सेवा पहुँच अभिवृद्धि र विद्युतीय न्याय प्रणालीको उपयोग गरी पारदर्शीता गर्ने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले गाउँको अदालत न्यायिक समिति भएका कारण जनताका मुद्दा सम्बोधन गरी न्याय दिनुपर्नेमा जोड दिएका छन् । समाजमा घट्ने कतिपय घटना न्यायिक समिति मार्फत समाधान गरेर पठाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै सकेसम्म अदालत पुग्न नदिन अनुरोध गरेका छन् ।

नागरिकको आवाज, समितिबाट प्राप्त न्यायिक निरूपणको अनुभव र सुझाव साट्ने अवसर सहित यसबाट न्याय सम्पादनमा केही परिर्वतन होस भन्ने उदेस्यका साथ कार्यक्रम रहेको प्रमुख बाँनियाले बताएका छन् । स्थानीय तहको विवाद स्थानीय तहमा नै मिलाउने राज्यको नीति सराहनीय भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

मेलमिलापको माध्यमद्वारा न्याय निरूपण हुँदा “मैले केही छोडेँ, उसले केही छोड्यो” भन्ने हार्दिकता र मनोभाव पनि बढ्ने हुँदा यो व्यवस्था प्रशंसनीय रहेको बताए । यो प्रक्रियालाई अझ विश्वसनीय बनाउन तालिम प्राप्त मेलमिलापकर्ताको परिचालन गर्नुपर्ने तथा मेलमिलाप केन्द्रहरूको स्थापना गर्नुपर्नेमा जोड दिएका छन ।

जिल्ला अदालत बाजुराका श्रेस्तेदार शंकर प्रसाद अधिकारी र कानुन व्यवसायी तुलाराम जैशीले सहजीकरण गरेको कार्यक्रममा वडा अध्यक्ष, नगरपालिका र वडापालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

अन्तर संवाद कार्यक्रममा सहजकर्ताहरुले न्यायिक समितिमार्फत हुने मेलमिलाप विवाद समाधानको वैकल्पिक उपायको औपचारिक संयन्त्र भएको चर्चा गर्दै अन्य उपायहरू अत्यन्त महँगो हुने हुँदा यसको लोकप्रियता बढिरहेको बताएका थिए ।

न्यायिक समिति संयोजक माया खड्का कुवँरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

कार्यक्रममा बुढीगंगा नगरपालिकाका प्रमुख राम बहादुर बाँनिया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला अदालत बाजुराका श्रेस्तेदार शंकर प्रसाद अधिकारी, बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी रहेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया