बाजुरा ः बुढीगंगा नगरपालिका-७ का स्थानीयले वडा अध्यक्ष भुवनसिंह केसीलाई वडा कार्यालय खै ? भनेर प्रश्न गरेका छन् । बड्डेलीचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले दुई कार्यकालसम्म वडा कार्यालयको प्रशासनिक भवन किन बनेन् ? भनेर प्रश्न सोधेका हुन् ।
दुई कार्यकाल समालेका वडा अध्यक्ष केसीलाई वडा कार्यालयको भवन बन्न नसक्नु कसको कमजोरी हो भनेर स्थानीयले आक्रोश पोखेका छन् ।
वडाका नागरिकलाई सिफारिसदेखि अन्य दैनिक प्रशासनिक कामकाजका लागि वडा कार्यालयको भवन नबन्दा समस्या झेल्दै आएपछि उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा तत्काल बनाउनुपर्ने माग राखेका हुन् ।
वडाका कुनैपनि गतिविधि प्रभावकारी ढंगबाट सञ्चालन नहुनु आफुहरुका लागि दुर्भाग्य भएको भन्दै व्यवस्थापनका नाममा लाज ढाक्ने काम बाहेक नभएको टिप्पणी गरेका छन् ।
संघीयता सिंगो बाजुराबासीका लागि आएको होला भन्ने लाग्थ्यो तर बुढीगंगा नगरपालिका-७ बासी पूरानै अवस्थामा रहेको उनीहरुको भनाई रहेको थियो ।
वडाका कुनै पनि गतिविधि सञ्चालन हुदाँ सिंगो वडाबासीले जानकारी समेत पाउन मुस्किल हुने गरेको भनाई स्थानीय रहेको थियो । यता वडा अध्यक्ष भुवनसिंह केसीले पनि प्रश्न यथार्थ भएको स्वीकार गरेका छन् ।
स्थानीय नागरिकका प्रश्नको जवाफ दिदैं समस्या रहेको स्वीकार गरेका हुन् । नगर सरकारको सौतेनी व्यवहारका कारण वडा कार्यालयको प्रशासनिक भवन बन्न नसकेको भन्दै जवाफको उत्तर दिएका छन् ।
स्थानीयका आधारभूत समस्या पनि हालसम्म वडाले जनताका समाधान गर्न नसकेको भनेर गुनासो पोखेका हुन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीवन र आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्न माग राखेका छन् ।
उता नगर प्रमुख रामबहादुर बाँनियाले नगरले विभेद गरेको दोहोरो चरित्र गरेको भन्ने आरोपको सार्वजनिक सुनुवाइ कार्यक्रममा खण्डन समेत गरेका छन् ।
वडामा अन्य वडाको हिसाबमा बढी बजेट विनियोजन गरेको बताउदैं वडा कार्यालयका लागि रकम नलिएर निर्माण गर्ने गरी आफु नगरमा निर्वाचित हुनु पूर्व ठेक्का भएको बताएका छन् ।
अघिल्लो कार्यकालमा समेत व्यवस्थापन गर्न नसकेको वडा कार्यालयको जग्गा पनि वडा अध्यक्ष आफ्नै भनेको तर वडाको केन्द्र पनि सार्ने भन्ने भएपछि विवाद भएको बताएका छन् ।
जग्गा निःशुल्क दिने भनेपछि वडा अध्यक्षले भनेपछि वडा कार्यालयको भवन निर्माण गर्ने भनेको तर वडाको नाममा नआएको र वडा अध्यक्षले गएको असारसम्म ल्याउछु भनेर बारम्बार कार्यपालिकाको बैठकमा भनेकोले नगर दाेष नभएकाे बताएका छन् ।
शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
१० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ । वडा अध्यक्ष भुवनसिंह केसीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडाले सम्पादन गर्ने योजना प्रति त्यति सन्तुष्ट नरहेको बताएका छन् ।
सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । वडामा आधारभूत समस्या सबै भन्दा बढी रहेको भन्दै स्थानीयले वडा र नगर सरकारलाई गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने व्यापक माग राखेका छन् ।
नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् ।
बड्डेलीचौरमा सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य पार्टीका प्रतिनिधि, पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।
प्रतिक्रिया