गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ ०१:०१

प्रजिअलाई बाजुरा एमालेको भन्याे : विकासका योजनामा बेइमानी र ढिलासुस्ती भयो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख ०९, २०८२
प्रजिअलाई बाजुरा एमालेको भन्याे : विकासका योजनामा बेइमानी र ढिलासुस्ती भयो

बाजुरा : विकासका लागि जिल्लामा आएको बजेटको सही सदुपयोग नभएको र निर्माणका कामले गतिलिन नसकेको प्रति नेकपा एमाले बाजुराले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पार्टी नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई भेटेर निर्माणका काममा भइरहेको ढिलाई र बेइमानीप्रति निगरानी गर्न अनुरोध गरेको छ ।

नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य गगन रावल नेतृत्वमा गएको टोलीले योजनामा निर्माण कम्पनीले बेइमानी र ढिलासुस्ती गरिरहेको जानकारी गराएका छन् । मार्तडी कोल्टी सडकमा पर्ने बाउलीको पुल, मार्तडी थामलेक घटमुना सडकमा पर्ने पुल र सडक बाटो निर्माणको अवस्था, जिल्लाका अन्य एक दर्जन बढी ग्रामिण सडक निर्माणको कामले कुनै गति नलिएको आरोप एमालेको छ ।

योजना सम्झौता गर्ने तर वर्षैसम्म काम सुरु नगर्ने ठेकेदारको सूची तयार पारेर सम्बन्धीत मन्त्रालय र कार्यालयलाई जानकारी गराइ प्रक्रिया अघि बढाउन एमालेले सुझाव दिएको छ । वर्षाद आउन लागिसक्दा पनि बर्षौपहिला लिएका पुल निर्माणमा बेवास्ता गरिएको, सडकको काम अस्तव्यस्त पारिएको र अन्य संरचनामा समेत बेइमानी गरिएको तथ्य सहीत भेटिएकोले तत्काल कारवाही प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।

बाजुरालाई समस्या र अभाव भनिरहने तर विकास निर्माणको कामलाई सयममै सम्पन्न गर्न राज्यका निकायले पनि कुनै पहल कदमी नगर्ने अवस्थाको अन्त्य हुनुपर्ने एमालेको प्रष्ट धारणा राखिएको एमाले प्रदेश कमिटी सदस्य गगन रावलले बताए । आएको बजेट समेत सदुपयोग नहुने र समयमै काम गराउन राज्य समेत गैरजिम्मेवार बन्ने कुरा अब एमालेका लागि सह्य नहुने उनको भनाई छ ।

राज्यको संयन्त्र र संरचना नै प्रक्रियामै अल्झिरहने बनाएकै कारण दुर्गमको विकासमा अवरोध पुगेको आरोप उनको छ । बजेट आउँछ, तर काम हुदैन् । आवश्यक बजेट नआएपनि आएको बजेटको काम भइदिएपनि धेरै हुनु थियो, त्यही पनि नहुने अवस्था हुन्छ, जिल्ला समन्वय समिति बाजुरा प्रमुख एवं एमाले नेता तुलसीराम रोकायाले बताए । 

सिडिओ कार्यालयबाट तत्काल त्यसको प्रक्रिया थालनी नभए ठेकेदार र काम नगर्ने कम्पनीलाई लिष्ट बनाएर सम्झाउने जिम्मा एमालेले लिने जानकारी सिडिओलाई गराएका छन् । पहिलो चरणमा ठेकेदारको नाम र फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र दोस्रो चरणमा सम्बन्धीत निकायमा लिखित उजुरी दिने योजना अघि सारेको छ । 

बाजुरामा दर्जन बढी सडक र पुलका योजना, भवन निर्माण देखि खानेपानीसम्मका योजना अलपत्र अवस्थामा छन् । साँफे मार्तडी सडक खण्डमा स्थानीयले गहुँ सुकाउने देखि गाइगोरु बाँध्ने सडक छेउमै टहरा बनाउने काम भइरहेकोले त्यसलाई समेत निगरानी गर्न नेताहरुले आग्रह गरेका छन् । 

जवाफमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पहिलो चरणमा स्थानीय तह नै जिम्मेवार हुनु पर्ने भन्दै उल्टै प्रशासन कार्यालयको जिम्मेवारीमा प्रश्न गर्ने कुनै ठाउँ नरहेको बताए । ६ महिना मात्रै भएको छ, म आएर सबै निर्माण कम्पनी ठेकेदार र सम्बन्धीत कार्यालयलाई ताकेता गरिसकेको बताए । 

बाजुरामा निर्माण भइरहेका अधिकांश ठूला निर्माणका काम नेपाली काँग्रेस निकट निर्माण कम्पनी र ठेकेदारको जिम्मामा छन् । पहुँच र शक्ति देखाएर जनतालाई धोका दिनेकाम राम्रो नहुने र त्यसको अगुवाइ एमालेले गर्ने भनाई नेताहरुका छन् । ७६ औं नेकपा स्थापना दिवसको अवसर पारी एमालेले केही फरक अभियान र एजेण्डा सहीत अघि बढ्ने गरि विकासमा रचनात्मक सहकार्य बढाउने बताएको छ । 

प्रतिक्रिया