बाजुरा : विशेष परिस्थिति भनेर रोकिएको नेकपा एमाले अछामको जिल्ला अधिवेशन अन्तः बैशाख १३ गते हुने निश्चित भएको छ । नवौं जिल्ला अधिवेशनका लागि बैशाख १३ देखि १५ गतेको मिति तय गरिएको छ । अछाम अधिवेशनलाई जिल्ला भित्र र बाहिर सबैतिरबाट बिशेष चासोका साथ हेरिएको छ ।
जिल्लामा रहेका १० वटै पालिकाबाट प्रतिनिधी छनोट भइसकेका छन् । अधिवेशनमा आयोजक जिल्ला कमिटी सहीत सबैगरेर ५ सयको संख्यामा प्रतिनिधी सहभागि हुने पार्टी जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिए । अछाम अधिवेशनको चर्चा नयाँ नेतृत्व चयनले मात्रै महत्व राख्ने छैन् । अछाम नेकपा एमालेको इतिहासमा पहिलो पटक डाक्टर भीम रावल विनै अधिवेशन हुने दिन आएको छ ।
एमाले पूर्व पार्टी उपाध्यक्ष रावल यतिबेला मातृभूमि जागरण अभियानमा सक्रिय छन् । पौष १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले रावललाई पौष १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले आफ्नै अगुवाईमा मातृभूमि जागरण अभियान गरेका थिए । केही हप्ता देखि त्यो अभियानपनि सुस्ताएको देखिन्छ ।
प्रतिनिधी व्यवस्थापन देखि अधिवेशनको उद्घानको तयारीमा अछाम एमाले लागि परेको छ । हुने नहुने दोधारमै रहेको अछाम जिल्ला अधिवेशन एकाएक केन्द्रीय सर्कुलर जारी गर्दै मिति तोकिएको थियो । रावललाई एमालेले कारवाही गरेपछि नारा जुलुस देखि विरोधसम्मका गतिविधी हुने र कार्यक्रम समेत विथोल्ने परिस्थितिलाई आँकलन गरेर केही समय स्थगीत गरिएको थियो ।
सुदूरपश्चिमका आठ वटा जिल्लामा यस अघि नै अधिवेशन भइसकेको छ । बाँकी अछाममा पनि उत्साहजनक अधिवेशनको माहोल बनेको अध्यक्ष चन्द्र बहादुरले बताएका छन् । बाहिर हल्ला गरिएजस्तो कुनै परिस्थिति छैन्, मुलधार छोडेर जाने, पार्टी नेतृत्व र विचारका विरुद्धमा विद्रोह गर्ने अवस्था नरहने वातारण बनाउन आफूहरु लागि रहेको दाबी बोहराको छ ।
केही संख्यामा थपघट हुनु, नारा जुलुस गरिनु, सामाजिक सञ्जालमा आक्रोश देखिनु बाहेक कुनै प्रभाव नदेखिएको र अधिवेशन लागेपछि माहोल झनै सुधार भएको एमाले अछामको निष्कर्ष देखिन्छ । सात जना बढीले अध्यक्षमा मात्रै उम्मेदवारी दाबी गर्नु, १० जना बढीले सचिव र अन्य पदाधिकारीमा दाबी गर्नेको जाँगर देखेर नै अछाम एमालेमा नयाँ रौनकता देखिएको छ ।
रावललाई कारवाहीपछिको पहिलो जिल्ला अधिवेशन भएकै कारण पनि चर्चा केन्द्रसम्मै छ । पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई नै अछाम जिल्ला कमिटीले आमनत्रण गरेको छ । तर कार्यव्यस्तताले आउन सक्ने अवस्था नहुने भएपछि अन्य पदाधिकारीबाटै उद्घाटन गराउने आन्तरिक योजना अछाम एमालेले गरेको छ ।
आन्तरिक र बाह्य भइरहेकोले उद्घाटन समारोहलाई व्यापक बनाउने तयारीमा जुटिरहेको अछाम एमाले सचिव भीम रावल कालोटोपीले बताएका छन् । पार्टी अध्यक्षका लागि वर्तमान अध्यक्ष र सचिव रावल दुबै बलियो उम्मेदवार हुन् । दुबैले आकांक्षा देखाएका छन् ।
ती बाहेक पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर विसी, हिरण्ड भट्टराई, डिवि साउद, शिक्षकबाट राजीनामा दिएर आएका जिल्ला कमिटी सदस्य तिलक कुँवरपनि आकांक्षी छन् । सात जनाको बलियो दाबेदारी अध्यक्षमा देखिँदा उपाध्यक्ष सचिव र उपसचिवमा दोब्बर आकांक्षी छन् ।
सबैनेताहरु आफूले नै पाउनु पर्ने गरि नेतासँगको लविङमा देखिएको छ । अहिलेको परिस्थितिमा चुनाव नगरि सर्वसम्मत गर्न केन्द्रीय नेताहरुको सुझाव छ । तर सहज वातावरण बन्ने अवस्था देखिदैन् । वर्तमान अध्यक्ष सहीत सचिवहरुले नै सहमति र चुनाव दुबै स्वीकार गर्नुपर्ने मनस्थिति बनाएका छन् । अध्यक्ष दोहोरिदा सिंगो अहिलेकै सेटमा सामान्य फेरबदल गरेर घोषणा गरिनु पर्ने पक्षमा पनि एक पक्ष देखिएको छ ।
नेतृत्व फेरिन पर्ने दाबी एकतिर भइरहँदा अर्कोतर्फ अफ्ठ्यरो र संकटमा पार्टीका लागि मरिमेटि लाग्नेहरुलाई विदाइ गरेर अरुलाई सहजै अवसर दिन नसकिने तर्फ अर्कोपक्षले गरिरहेको छ । नेतृत्व सर्वसम्मत, भेग, भूगोल, योग्यता क्षमता सबैलाई संवोधन हुने गरि ल्याउदा राम्रो हुने सुझाव एमाले अछामकी नेतृ बान्नीगढी गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको छ । रावल आफै उपसचिवको उम्मेदवार हुन् ।
अछाममा दुई निर्वाचन क्षेत्र छन् । भूगोलले पनि दुई भागमा बाँडिदिएको छ । पदिय भागवण्डा पनि त्यसैअनुरुप गर्नु पर्नेमा धेरै नेताहरुको जोड छ । विभाजनको अवस्थामा सबै एक भएर जानु पर्ने सुझाव अध्यक्षका उम्मेदवार समेत रहेका एमाले नेता हिरण्ड भट्टराईको छ । सर्वसम्मत नेतृत्व चयनमा आफू मात्रै बाधक नबन्ने तर सबैलाई न्याय र अवसर दिनु पर्ने मान्यतामा भट्टराई देखिन्छन् ।
नयाँ युवा नेताहरुले पनि अछामको निराशा माथि उकास्ने गरि जिम्मेवारी दिनु पर्ने र नेतृत्व छनोट गरिनु पर्ने सुझाव दिइरहेका छन् । अधिवेशन आउन हप्तादिन पनि बाँकी छैन् । नेताहरु आ आफ्नै लविङमा छन् । भीम रावलतिर जोडिएका नेता कार्यकर्तालाई ल्याउने आन्तरिक रणनीतिमा पनि एमाले देखिन्छ । तर त्यो तत्काल संभावना भने देखिदैन् ।
किनकी अधिवेशनकै मुखमा आइतबार मात्रै ७७ जना बढी सक्रिय कार्यकर्ताले एमाले परित्याग गरेकार रावलको मातृभूमि जागरण अभियानमा जोडिएको घोषणा गरेका छन् । अधिवेशनका लागि अछाम एमालेमा उत्साह भने बढी नै देखिन्छ ।
जिल्ला बाहिरबसेका सबै नेता कार्यकर्ता यतिबेला अछाम केन्द्रीत बनेका छन् । ५१ वर्ष एमालेको सक्रिय राजनीति गरेर अछाम सहीत सिंगो सुदूरपश्चिम आफ्नो पकडमा राखेका डाक्टर भीम रावल विना नै अछाम एमाले अधिवेशनमा जुटेपछि पार्टी भित्र र बाहिर दुबैतिरबाट बिशेष चासो बढेको देखिन्छ ।
कारवाहीमा परेपछि रावल माघ ३ गते गृह प्रदेश धनगढी पुगेका थिए । विमानस्थलबाटै उनी अछाम आए । माघ ४ गते विहान गृह जिल्लाको गृह पालिका साँफेबगरमा पहिलो कोण सभा आयोजना गरे । त्यो पछि करिब महिनादिन रावलले अछाममै बिताए । राजनीतिक भेटघाट गरे । । साँफेबगर, मेल्लेख र चौरपाटीका वडाहरुमा संगठनका वटा र पालिका कमिटी पनि गठन गरे । तर त्यो भने खासै प्रभावकारी हुन सकेको छैन् ।
२०७८ को पौषमा नेकपा एमाले अछामको अधिवेशन भएको थियो । अधिवेशनमा सहमति हुन सकेन् । सिंगो कमिटीका लागि चुनाव भयो । १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्यो । त्यसमा भीम रावल पक्षबाट ४६ जना निर्वाचित भए । उपाध्यक्ष, सचिव र एक उपसचिव पनि रावल पक्षबाटै जिते । त्यो निर्वाचित कमिटी अहिलेपनि जारी छ । ती १ सय ५ जना मध्ये १० जना मात्रै रावलको पक्षमा देखिएका छन् ।
जिल्ला कमिटी अछामको विश्वस्त श्रोतका अनुसार १० जना मध्येपनि ९ साँफेबगर नगरपालिका भित्रका छन् । जो रावलको गृह पालिका हो । १ जना बाहिरका छन् । पदाधिकारी कोही पनि रावलको पक्षमा उभिएनन् । भेटघाट गरे, समर्थन मागे । घरमै बोलाए, तर टसमस कोही भएनन् । त्यस कारण पनि रावल विनाकै माहोल अछाम एमालेमा व्यापक देखिएको छ ।
अहिलेको अवस्था हेर्दा समग्र अछाममा १० देखि १५ प्रतिशत र रावलको गृह पालिकामा ४० प्रतिशत एमाले भित्र समर्थन रावलको पक्षमा देखिन्छ । त्योपनि सुरुमा जस्तो अहिले छैन् । रावल विनाकै माहोल नै लोभलाग्दो अवस्थामा पुगेको देखिन्छ । केही असर नपर्ने होइन्, तर निकट र नाता लाग्ने बाहेक कोही पनि एमाले छोडेर गएको देखिदैन् । जुन कारण पनि आठौं भन्दा पनि भव्य र व्यवस्थीत अधिवेशन गराउने तयारीमा अछाम एमाले देखिएको छ ।
प्रतिक्रिया