बाजुरा ः सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बाजुरा क्याम्पसमा नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ । मार्तडीमा रहेको उक्त क्याम्पसको भवनको सोमबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको लगानीमा निर्माण हुन लागेको चार तले पक्की मूल भवनको विधिवत् रुपमा पूजाआजासहित शिलान्यास गरिएको बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौलले बताए । यसअघि भौतिक संरचना अभावमा पठनपाठनमा समस्या भइरहेको भए पनि अब सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्य सुरु भएसँगै सहजता हुने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै उक्त भवन निर्माण कार्यको जिम्मा बेतालमाडौं शिवम जेभीले २०८३ असोजसम्म काम सम्पन्न गर्ने गरी ४ करोड ७० लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ ।
बाजुरा क्याम्पसमा निर्माण हुन लागेको भवनको शिलान्याससँगै नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।
क्याम्पस प्रमुख रुपबहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपकुलपति प्रा.डा. हेमराज पन्त रहेका थिए । कार्यक्रममा बोल्दै उपकुलपति पन्तले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक समस्या समाधानका लागि सदैव तत्पर रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन प्रा.डा. हेमनाथ जोशी, बडीमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, वडा नम्बर ८ का पूर्व अध्यक्ष प्रकाश रावल, क्याम्पसका उपप्राध्यापक तथा शिक्षक, स्ववियू, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बाजुरा क्याम्पसका प्रशासन शाखा प्रमुख मदनराज जोशीले गरेका हुन् ।
प्रतिक्रिया