बाजुरा : कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका-४ को बुढीतोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।
डिभिजन सडक कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छ्याउने काम भइरहेको बताए ।
सुवेदीले सडक भाँसिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुन: पन्छयाउन थालिएको जानकारी दिए ।
उनले बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ ।
सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।
यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । शाहले निरीक्षण गर्दै पहिरो पन्छ्याएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन दिएका छन् ।
त्यसअघि मंगलबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलसहितका जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूले पनि राजमार्गको निरीक्षण गरेका थिए।
प्रतिक्रिया