बाजुरा ः सञ्चार कर्ममा रहेका पत्रकारको हत्या र मिडिया माथिको आक्रमण विरुद्ध बाजुरामा पनि कालोपट्टी सहित विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराको आव्हानमा आईतबार जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको सहभागीतामा निधार र हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ कार्यालयबाट नारा जुलुस सहित सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोणसभा गर्दै कार्यक्रम गरिएको छ । केन्द्रको सर्कुलर अनुसार यहीँ चैत्र १५ गते काठमाडौंमा राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्युको विरुद्धमा विरोध प्रर्दशन गरिएको छ ।
त्यस्तै सोही आन्दोलनमा निरंकुश शैलीमा अन्य पत्रकार तथा सञ्चार गृहमाथि आक्रमण भएको भन्दै तत्काल घटनामा संलग्न माथि कारबाही गर्न माग गर्दै चरणबद्ध रुपमा देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका छन् ।
समाचार संकलनकै क्रममा पत्रकार रजकको हत्या र आमसञ्चार माध्यममा ज्यानै लिने मनसायले गरिएको आक्रमण विरुद्ध देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् । उक्त घटनाका दोषीहरुलाई कानुनी कारबाहीको माग गर्दै बाजुरामा पनि निधार र हातमा कालोपट्टी बाँधेर नारा जुलुस सहित विरोध प्रर्दशन गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकले बताएका छन् ।
त्यस्तै राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकारको हत्या र मिडिया माथि आक्रमण गर्ने माथि कानुनी कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने विकले बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार बाजुरा शाखाले शनिबार पनि शोक सभाका साथै विरोध प्रदर्शन गरिएको सचिव प्रेम रौलेले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकको अध्यक्षतामा सञ्चालन भएको विरोध सभा कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी नेपाल निवर्तमान केन्दीय लेखा आयोग सदस्य सर्पलाल गिरी, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय, प्रेस युनियन बाजुराका सचिव राम बहादुर विक, पत्रकार महासंघका पदाधिकारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया