सिरहा ःसिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । सिरहा जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको हो ।
अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिए ।
अब उनीहरू बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् । उनीहरूसँगै बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने अब कानुनबमोजिम म्याद जारी हुने कुलुङले बताए ।
गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो । पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए ।
जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया