बाजुरा ः नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ यहीँ चैत १६ गते ७० औं वर्षमा प्रवेश गर्दैछ । आफ्नो स्थापना दिवसका अवसरमा महासंघले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
७० औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले जिल्ला अस्पताल बाजुरामा चेकजाँच सहित औपचारिक कार्यक्रमका साथ मनाउने उपाध्यक्ष रमित विकले बताएका छन् ।
स्वास्थ्य परीक्षणमा बिएमआइ, उच्च रक्तचाप, मधुमेह, मृगौला, पाठेघरको मुखको स्क्रिनिङ लगायत समेत अस्पतालमा चेक गरिने भएको छ ।
महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखाहरुमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिवद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रवन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी गराएका छन् ।
प्रतिक्रिया