सिरहा : सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ लगाउन महायज्ञ स्थल अछुतो हुन्छ भनेर एक दलित डोम परिवारको घर नै सारिएको छ। कात्तिक महिनादेखि नै महायज्ञ लगाउन करिब १२ कठ्ठा ऐलानी जग्गामा मूर्ति र यज्ञहोमका लागि घर टहरा बनाउन थालेका थिए।
त्यही ठाउँसँग टाँसिएर दीपक मरिकको घर थियो। महायज्ञ हुुने ठाउँमा दलितको घर हुँदा शुभ नहुने भन्दै घर सारिएको छ। मरिक घर अहिले सुन्दर माविदेखि पश्चिमपट्टि बनाएका छन्। घर बनाउन फेरि यज्ञ समितिबाट नै सहयोग गरेका छन्।
अहिले सरेको ठाउँमा मरिक परिवारले खानेपानी, बिजुलीबत्तीको सुविधा पाएका छैनन्। ट्युबवेलसमेत नहुँदा स्कुलबाट पानी ल्याएर काम चलाउने गरेका छन्। घर सारिएपछि मरिक परिवारले आफूहरूमाथि जातीय छुवाछूतको नियत राखेर विभेद गरेको बताएका थिए। तर, घटना बाहिरिएपछि अहिले उनीमाथि सहमतिमै सरेको भनेर भन्नलाई दबाब यज्ञ समितिबाट दिन थालेका छन्।
घटनाबारे मधेस प्रदेशका मानवअधिकार आयोगका टोलीले स्थलगत अनुगमन गरी जानकारी लिएका छन्। विभेद भएको भनिए पनि प्रहरीमा अहिलेसम्म कुनै उजूरी नआएको सिरहा एसपी रमेश पण्डितले जानकारी गराए। आफू पनि घटनास्थलमा पुगेर जानकारी लिएको उनले सुनाए।
यज्ञ समितिका संयोजक गाउँपालिका अध्यक्ष शिवजी यादव आफैं छन्। गाउँपालिकाबाट पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। बाँकी रुपैयाँ स्थानीयहरूबाट संकलन गरेका छन्।
शिवजी र पूर्ववडाध्यक्ष दिलिप यादवको नाममा संयुक्त खाता सञ्चालन गरेका छन्। सञ्चारकर्मीहरूको टोली पीडित मरिकको घर पुग्दा उनले आफूहरूलाई गाउँपालिका अध्यक्ष शिवजी यादव, यज्ञका बाबा बजंरगी र पूर्ववडाअध्यक्ष दिलिप यादवको निर्देशनमा घर खाली गराइएको बताएका थिए। तर, गाउँपालिका अध्यक्ष यादवले बिहीबार पत्रकार सम्मेलन गरेर मरिक परिवारको सहमतिमै सारिएको तर्क गरेका छन्।
मरिक परिवार दीपक र अनिता गाउँपालिकामै सरसफाइ कर्मचारीका रूपमा कार्यरत छन्। त्यही भएर दबाब दिएर सहमतिमै सरेको भन्न लगाएको एक स्थानीयले बताए। फागुन १० गते घर खाली गराए। तर, पत्रकार सम्मेलनमा सार्वजनिक गरेका कागजमा फागुन ११ गते सहमति लिएको देखाएका छन्।
कारबाहीबाट जोगिन गाउँपालिका अध्यक्षले फर्जी सहमति रहेको कागज तयार गरेको ती स्थानीयको भनाइ छ। ‘गाउँपालिकाकै सुन्दर माविमा क्याम्पस सञ्चालन गर्ने उद्देश्यले महायज्ञ लगाउन तयारी गरेका छौं। मरिक परिवारको सहमतिमै घर सारिएको छ।
केही राजनीतिक व्यक्तिहरूले रिसिईबी साँध्न सामान्य कुरालाई अतिरञ्जित बनाइरहेका छन्,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘फेरि ऐलानी जग्गामा कृषि हाटबजार लगाउने योजना संघीय सरकारबाट स्वीकृत भएर ३ करोड २५ लाख बजेटको ठेक्का बन्दोबस्त भइसकेको छ।
पहिले महायज्ञ सकाउने र पछि त्यही जग्गामा कृषि बजार बनाउने योजना छ। तर, केही व्यक्तिहरूले वास्तविकता नबुझी आफूलाई फसाउन लागेका छन्।’ विभेद गर्न आफ्नो मनसाय नभएको उनले सुनाए।
प्रतिक्रिया