काठमाडौं : रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार त्यस क्षेत्रमा होली मनाइएको हो ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । रसरङ्ग,नाचगान,खानपिन,मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने,ढोल,डम्फु,मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने होली पर्वको आफ्नै गरिमा छ ।
होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरू एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।
भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।
प्रतिक्रिया