बाजुरा ः नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले गाउँमा गएर जनतासंग फोटो खिच्दैमा नेता भएको आभाष नगर्न अनुरोध गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दै थापाले यस्तो बताएका हन् ।
पार्टीको निर्देशन बमोजिम काम कारबाही नगर्ने, नेताको चाकरी गर्ने, गाउँमा केही जनता राखेर फोटो खिच्ने, जनताका काम नगर्ने व्यक्ति कुनै पनि हालमा नेता नहुने र पार्टीले मुल्याङ्कन गरिरहेको बताएका छन् ।
पार्टीका २३ वटा घटक संगठन र जनवर्गीय संगठन रहेको बताउदै जनवर्गीय संगठन पार्टीको नेतृत्व विकास गर्ने भट्टी र मूल उर्वर थलो भएको उल्लेख गरेका छन् ।
पार्टीको आधार भनेकै जनवर्गीय संगठन भएका कारण यसको उद्देश्य बुझ्न जरुरी रहेकोले कर्मी माहुरी जस्तो भएर संगठन निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।
बाजुरामा राजकीय क्षेत्र र पार्टीको पदाधिकारी स्तरमा दलित समुदायका व्यक्तिहरुको प्रतिनिधित्व रहेको उल्लेख गर्दै फेरि पनि न्याय गरेर सन्तुलित तरिकाले पार्टी अघि बढ्ने बताएका छन् ।
शासकहरुले राज्य सञ्चालनमा क्रममा जातीय विभेदलाई प्रोत्साहन दिएर हालसम्म त्यो गलत प्रथा समाजमा रहेको भएपनि यस्तो कुरामा नेकपा (एमाले) असहमत रहेको बताएका छन् ।
थापाले पार्टीका कुनै पनि व्यक्तिले जातीय विभेद वा सामाजिक विभेद गरेको पाईएमा पार्टीको साधारण सदस्य नहरने गरी स्वंयम व्यक्तिले हट्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया