धनगढी ः सुदूरपश्चिममा प्रस्तावित स्थानीय तह सम्बन्धी कानुनका प्रावधानको विरोधमा रहेका विद्यार्थी र कांग्रेस निकट तरुण दलका कार्यकर्ताबीच आइतबार धनगढीमा तनाव भएको छ ।
विद्यार्थीले सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमा लगाइएका कांग्रेस पार्टीका झन्डा फ्याँकिदिएका छन् । सोमबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम सम्मेलन हुँदै छ ।
सम्मेलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरु धनगढी आउने कार्यक्रम छ । शीर्ष नेताहरुकै स्वागतका लागि पार्टी कार्यकर्ताले धनगढीका मुख्य सडक किनारमा राखेका पार्टीका झन्डा विद्यार्थीहरुले हटाएपछि तनाव भएको हो ।
मुख्यमन्त्री कार्यालयमा धर्ना दिँदै आएका विद्यार्थीले झन्डा उखेलेर फ्याँकेका हुन् । त्यस क्रममा दुवैपक्षबीच सामान्य झडप भएको छ । लगत्तै परिस्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा पेस गरिएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१' का प्रावधानप्रति विद्यार्थीले विरोध गरिरहेका छन् ।
विधेयकमा स्थानीय तहको अस्थायी वा करार सेवामा कार्यरत कर्मचारीलाई प्रदेश लोकसेवा आयोगद्वारा एक पटकका लागि मात्रै प्रतिस्पर्धा गराउने प्रावधानमा उनीहरुको विमति छ ।
सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै विद्यार्थीले सडक आन्दोलन गरिरहेका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रस्तावित प्रावधान हटाइने बताइसकेका छन् ।
प्रतिक्रिया