बाजुरा ः २५ वर्ष अगाडी हराएकी एक नेपाली महिला भारतको उत्तराखण्ड पिथौरागढमा फेला परेकी छन् । उनी पिथौरागढस्थित ‘वानस्टप सेन्टर’ को आश्रयस्थलमा रहेको सूचना आएपछि सोधीखोजी थालेर परिवारलाई सम्पर्कमा ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।
उनी सन् २००७ देखि नै उनी ‘वानस्टप सेन्टर’को आश्रय स्थलमा थिइन् । तस्बिर सहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीको भनाइ छ । बाजुराको बुढीगंगा नगरपालिका-३ स्थायी ठेगाना भएकी उनको नाम शान्ति रहेको खुलेको छ ।
उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू पनि सम्पर्कमा आइसकेको जोशीले बताए । परिवारजनका अनुसार २५ वर्ष अगाडि शान्ति हराएकी थिइन् । किन इन्डियाको फेसबुकमा शान्तिका छोरा भुपेन्द्र शाह ठकुरीले लेखेका छन्– ‘सपनाजस्तो लागेको छ ।
आज हाम्रो परिवारमा खुसीको बहार ल्याइदिनुभएकामा निकै आभारी छौं ।’ अहिले ७० वर्ष हाराहारी पुगेकी शान्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारजनलाई जिम्मा लगाइने किन इन्डिया प्रमुख जोशीले बताए ।
प्रतिक्रिया