बाजुरा : नेकपा एमालेका नेताहरुले सबैलाई पार्टी कमिटीमा आवद्ध हुन सार्वजनिक अपिल गरेका छन् । भविष्य बोकेको र देश दुनियाँले विश्वास गरेको जनताको पार्टी नै नेकपा एमाले भएकोले त्यसैमा आवद्ध हुन र जोडिन आग्रह गरेका हुन् ।
नेकपा एमाले बुढीनन्दा नगरकमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन समारोहमा नेताहरुले राजनीतिमा भविष्य खोज्ने र जनताको पक्षमा हुनेहरु सबैले रोज्ने पार्टी भनेकै एमाले मात्रै भएको दाबी गरेका छन् । विगतको गौरवलाग्दो इतिहास, वर्तमानको जनताको आकर्षण र समर्थन र भोलिको भविष्य एमालेसँग मात्रै भएको उनीहरुको भनाइ छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले नामका पार्टी र आवेग रिसमा निर्माण गरिएका पार्टीमा अल्झिएर बस्नुको अर्थ हुने धारणा राखेका छन् । एकीकृत समाजवादी तर्फ संकेत गर्दै थापाले राजनीतिक भविष्य भएका युवाहरुले लहडमा लागेर जीवन बर्बाद नगर्न आग्रह गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य नरेश शाहीको नामै लिएर स्थायी कमिटी सदस्य थापाले एमालेबाटै बनेको राजनीतिक व्यक्तित्वलाई एमालेमै खर्चिन र जनताको समर्थन रहेको पार्टी आउन आग्रह गरेका छन् । शाही नेकपा एमालेमा हुँदा पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सचिव थिए ।
सोही अवसरमा एमाले छोडेर माओवादी रोजेका पुराना नेता रामलाल कार्कीले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापाले विकासका काममा, योजना निर्माणमा, एजेण्डामा राष्ट्रियताको सवालमा दुर्गम क्षेत्रको विकासमा एमालेकै नीति र नेतृत्वले मात्रै संभव भएको र भविष्यमा पनि त्यही हुने दाबी गरेका छन् ।
कोल्टी शिवपार्कमा नगर कमिटीले भव्य उद्घाटन समारोह आयोजना गरेको हो । हाल बुढीनन्दा नगरपालिका नेकपा एमालेले जितेको छ । नेकपा एमाले उपाध्यक्ष जनक कुमार बोहरा नगर प्रमुख छन् । भव्य उपस्थितिका बीच नेताहरुले नेपाली राजनीतिमा भविष्य बोकेको पार्टी नेकपा एमाले मात्रै भएको दाबी छन् ।
पार्टी केन्द्रीय सदस्य सहदेव बोगटीले माओवादी कस्तो पार्टी हो, आफूले बुझेर, भोगेर आएकोले त्यहाँ व्यक्ति लाभ र व्यक्ति स्वार्थ बाहेक विषयमा बहस नै नहुने गरेको जिकिर गरेका छन् । माओवादी प्रचण्डको परिवार मोह र युद्धकालिन समयका एजेण्डा भुलेर जनतालाई धोका दिएको बताएका छन् ।
उद्घाटन समारोहमा केन्द्रीय अनुशासन आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, नेताहरु जनक कुमार बोहरा, बल्देव रेग्मी, काशी विक, भरत थापा, नव प्रवेश रामलाल कार्की सहीतले मन्तव्य राख्नु भएको थियो ।
कार्यबाहक नगर कमिटी अध्यक्ष सुकवीर कडाराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन उपसचिव प्रदीपराज जैशीले गरेका हुन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बुढीनन्दा नगर कमिटीको अधिवेशनसँगै नौ वटै पालिका अधिवेशन सकिएर एमाले जरा अभियानमा केन्द्रीत हुनेछ ।
प्रतिक्रिया