बाजुरा ः नेकपा (एमाले) आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन-८४’ केन्द्रीत ‘जरा अभियान’ मा जुटेको छ । प्रत्येक टोल, वडा, पालिका र जिल्ला केन्द्रीत भएर एमाले देशव्यापी रुपमा जुटिरहेको छ ।
देशभर वडा, पालिका, जिल्ला र प्रदेश कमिटीलाई अभियान सञ्चालनको जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यलाई समेत सम्बन्धीत जिल्लामा खटेर वडा तहैसम्म पुग्नेगरी कार्यविभाजन गरिएको छ ।
सोही अनुसार बाजुरा जिल्ला कमिटीले पनि पहिलो चरणमा पालिका केन्द्रीत छलफल, अन्र्तक्रिया र भेटघाटलाई अघि बढाएको छ ।
पार्टी जिल्ला कमिटीको निर्देशन अनुसार (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीले दैनिक गतिविधि सञ्चालन गरिरहेको वडा ईन्चार्ज अमर विकले बताएका छन् ।
वडामा आईतबार बसेको वडा कमिटीको बैठकले वडाका सबै टोलमा पुगेर संगठित सदस्यता नवीरकण गरेर तत्काल सक्ने, टोलका अधिवेशन तत्काल गर्ने गरी मिति तय गरिएको जिल्ला कमिटी सदस्य समेत रहेका विकले बताएका छन् ।
पार्टी जिल्ला कमिटीको ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ सफल पार्नका लागि सम्बन्धित टोल कमिटीलाई जिम्मेवारी समेत तोकिएको छ ।
‘जरा अभियान’ को दोस्रो बैठक बसेर पार्टीको अभियानका गतिविधि नियमित सञ्चालन गर्ने गरी पार्टी वडा कमिटी क्रियाशील हुने गरी छलफल गरिएको छ ।
बैठकले वडाको कौडाकोट टोलमा फागुन ९, घोगाला र बगरमा फागुन १०, गदाडा फागुन ११ गते र फागुन १२ गते डाँडाबाडा टोलमा पुगेर पार्टीको सदस्यता नवीकरण गरिने वडा कमिटी सचिव तुसार सार्कीले जानकारी दिएका छन् ।
वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षमा बसेको बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवंम् वडा ईन्चार्ज अमर विक, गाउँ कमिटी सदस्य लगायत पार्टीका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया