बाजुरा ः बाजुरा जिल्लामा मदिरा व्यवस्थापन गरिने भएको छ । समाजलाई शान्त, सभ्य, र सुव्यवस्थित गर्नका लागि यस्तो गर्न लागिएको हो ।
सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै तथा अग्रगमनको सकारात्मक बाटोमा अग्रसर गराउन मदिराको व्यवस्थापन आवश्यक देखिएको समन्वय प्रमुख श्री तुलसीराम रोकायाले बताएका छन् ।
बाजुरा जिल्लाको सातौँ जिल्ला सभाले जिल्लाभर एकै प्रकृतिको कार्यविधि लागू गरी मदिरा व्यवस्थापन गर्ने भनी गरेको निर्णयानुसार जिल्ला समन्वय समितिको कार्यालयले तयार गरेको कार्यविधिको मस्यौदामा मंगलबार छलफल गरिएको जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताएका छन् ।
उक्त छलफलमा महत्वपूर्ण सुझाव समेत प्राप्त भएको पाण्डेले बताएका छन् । उनका अनुसार जिल्ला समन्वय समितिले नमुना कार्यविधि बनाएर सबै स्थानीय तहमा पठाउने र स्थानीय तहहरुले उक्त कार्यविधि आफ्नो सभाबाट पारित गरी लागू गरिने भएको छ ।
गौमुल गाउँपालिकाले लागू गरेको मदिरा व्यवस्थापनको नीति अपनाईएको विधिमा आवश्यक परिमार्जन गरी थप कार्यान्वयन गर्न योग्य र व्यवस्थापन गर्न सकिने गरी कार्यविधि तर्जुमा भईरहेको छ ।
जिल्लाका केही स्थानीय तहले यसअघि नै मदिरा व्यवस्थापन गरेको छन् । भने केही स्थानीय तहले पूर्ण रुपमा रोक गर्न समेत प्रयास गरेका थिए । सोही अनुसार समन्वय समितिले जिल्लाभर लागू गर्ने गरी अगुवाई गर्न लागेको हो ।
जिल्ला समन्वय समितिको कार्यालयमा मंगलबार बसेको उक्त बैठकमा समन्वय प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया