बाजुरा ःलामो समयको प्रयासपछि मार्तडी-कोल्टी बस सेवा सुरु भएको छ । सडक जोडिएको लामो समयपछि पहिलो पटक मार्तडीबाट कोल्टीका लागि ३ वटा बस छुटेका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमका साथ बस सेवा सञ्चालन गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
मार्तडीबाट कोल्टीसम्म निःशुल्क बसमा यात्रुहरुलाई लिएको बोहराले बताएका छन् । पहिलो दिन महाकाली यातायातका बस मार्तडीबाट कोल्टीका लागि पठाईएको महाकाली यातायात प्रा.लि.ले जनाएको छ ।
मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाँडा पाँच सय रुपैयाँ कायम गरेर महाकाली यातायातका बस सञ्चालन गरिएका छन् ।
पूर्वी उत्तरी क्षेत्रका ४ पालिका सहित मुगु, हुम्ला, र कालीकोट जिल्लाका १७ वटा पालिकाको मुख्य केन्द्रबिन्दु रहेको कोल्टीमा मार्तडीबाट कोल्टी नियमित बस सेवा सुरु हुने भएको छ ।
९ किलोमिटर मात्र पक्की बनेको सडकखण्डमा पाण्डुसैन देखि कोल्टी सम्मको सडक सुधार गर्न सके यातायात व्यवसायीलाई बस सेवा नियमित गर्न सहज हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको एक महिनापछि बस सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा कोल्टीसम्म बस सञ्चालनका लागि गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो ।
शुक्रबार औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गर्दै मार्तडी–कोल्टी बस सेवा सञ्चालन गरिएको हो ।
मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका स्थानसम्म आवतजावत गर्न ठुलो सहयोग पुग्ने भएको छ ।
मार्तडी–कोल्टी सडक शिलान्यासको २५ वर्षपछि बस सेवा सूरू गरिएको हो । २०५६ सालमा मार्तडी देखि कोल्टीसम्मको करिब ४२ किलोमिटर सडक २२ वर्षपछि स्तरोन्नति गरिएको थियो ।
बससेवा सञ्चालन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्का, बुढीनन्दाका नगरप्रमुख जनक कुमार बोहरा, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया