बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा क्रियाशील गैर सरकारी संस्था ग्रिन तारा नेपालको जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सहित कार्यक्रमको समग्र समीक्षा आयोजना गरिएको ग्रिन तारा नेपालका प्रमुख कविता थापाले बताएकी छन् ।
मातृ तथा नवजात शिशु प्रवर्द्धन, ग्रामीण अल्ट्रा साउण्ड, मातृ मृत्यु र शिशु मृत्युदर कम गर्ने, संस्थागत सुत्केरीको लागि प्रोत्साहन गर्ने, स्वास्थ्य संस्थामा उपकरण, स्वास्थ्य संस्था मर्मत र स्वास्थ्यकर्मीहरुलाई तालिम लगायत खप्तड छेडेदह गाउँपालिकामा संस्थाले काम गरेकाे थापाले बताईन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले संस्थाले समग्र स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका प्रति धन्यवाद दिएका छन् । परम्परागत समयमा पनि गर्भवती महिलाको ज्यान जोगाउनका लागि महिलाहरुले नै भूमिका खेलेको उदाहरण दिदै हालको समय धेरै परिवर्तन भएको बताएका छन् ।
त्यो बेला गर्भवती आमाले बच्चा जन्माउन नसकेमा सोही अनुसारको विवेक प्रयोग गरेर आमाको ज्यान बचाउने महिला नै वैद्य हुने स्मरण गरेका छन् । सोही कार्यक्रममा खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष विशु देवी नाथले कार्यक्रमले पालिकालाई ठुलो सहयोग पुगेको बताएकी छन् ।
समुदाय स्तरमा मातृ मृत्यु र नवजात मृत्यु दर घटाउने र महिलाहरुको उत्थान गरी सशक्तिकरण गर्नमा टेवा पुगेको बताएकी हुन् । स्वास्थ्य कार्यालयका तथ्याङ्ग अधिकृत रुकुम थापाले ग्रिन तारा नेपालले स्वास्थ्य क्षेत्रमा काम गरेको भएपनि आफुहरुसंग समन्वय र सहकार्य नहुन दुःखद भएको बताएका छन् ।
कार्यक्रममा गाउँपालिकामा गरेको गतिविधिहरु बारे जानकारी गरिएको थियो । आगामी केही समयपछि कार्यक्रम सकिने र बुढीगंगा नगरपालिका लागू हुने बताईएको छ । बुढीगंगा नगरपालिकामा समुदाय गुणस्तरीय मातृ, नवजात र बाल स्वास्थ्य सेवाको सुनिश्चितता परियोजना लागू हुने समेत जानकारी गरिएको छ ।
जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा समीक्षा जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरिएको हो । कार्यक्रममा सरोकारवाल निकायको सहभागीता रहेको थियो ।
प्रतिक्रिया