गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३९

अनेरास्ववियु काठमाण्डौंले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष ०२, २०८१
अनेरास्ववियु काठमाण्डौंले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा : नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले देशभरका युवाहरूलाई लक्षित गर्दै लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क अनलाइन कक्षा सञ्चालन निर्णय गरेको छ ।

नेकपा एमाले अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीको अध्यक्ष निराजन थापाको अध्यक्षतामा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिना सम्मेलित सोमबार बसेको तेस्रो पदाधिकारी बैठकले निर्णय गरेको छ ।

युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

सामाजिक तथा आर्थिक रूपले पछाडी परेका देशभरका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउने तथा सरकारी सेवाका लागि प्रोत्साहित गरेर उनीहरूको सामाजिक तथा आर्थिक पक्षलाई सुधार गर्ने उद्देश्यले निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागिएको इन्चार्ज धर्मराज तिमिल्सिनाले बताएका छन् ।

लोकसेवा र शिक्षक सेवा आयोगको तालिमका लागि आवश्यक स्रोत–साधन तथा व्यवस्थापनको जिम्मा लिईएको उनको भनाई रहेको छ ।

उनले भने, ‘अनलाइन तयारी कक्षा सञ्चालनका लागि आवश्यक स्रोत खोजी आफूले नै लिई, विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देशभरिका युवाहरूलाई तथा पेशा–व्यवसायको कारण अध्ययनमा कम समय दिने तमाम युवाहरुको लागि अवसर दिंदै देशमा छरिरहेको चरम निराशालाई चिर्न अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीलाई यो कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छु ।’

विभिन्न पेशा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने देशभरका युवाहरूको अभिलाषालाई पूरा गर्न लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइन मार्फत तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष निराजन थापा बताएका छन् ।

उनका अनुसार कक्षामा सहभागी हुन देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूलाई ०८१ पुस १५ गतेभित्र विवरण सहित गुगल फाराममा आवेदन दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया