बाजुरा : भारत जान्छौं भनेर भागेका चार जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा छोडेको छ । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका गाउँका चार जना बालकलाई सदरमुकाम मार्तडी स्थित बसपार्कबाट आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्दाजी १३/१४ वर्षका शुभाष कडाँरा, शिखर तिरुवा, रवीन्द्र कडाँरा र टंक कडाँरा गरी ४ बालक भागेर भारत तिर जान लागेका थिए । उनीहरु सबै जना गाउँमै ५/६ कक्षामा अध्ययन गरिरहेका थिए ।
घरमा कसैलाई थाहा नदिएर एकाएक भागेर गएको आफन्तले बताएका छन् । मार्तडी स्थित टिकट काउण्टरका कर्मचारीले चारै जना बालकलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
उनीहरु घरबाट स्याउ बेच्न कोल्टी आएको र त्यहाँबाट धनगढी हुदैँ भारत जान लागेको बताएका छन् । नियन्त्रणमा लिएका चारै जना बालकलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छोडेको छ ।
प्रतिक्रिया