कालिकोट : कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी उम्मेदवार नै नेमकिपाका नेता बने । १४३ मत ल्याएर शाहीले वडाध्यक्ष जित्दा निकटतम् प्रतिद्वन्द्वी बनिन्, माओवादी केन्द्रका नैसोभा शाही ।
नैसोभाले ११५ मत ल्याइन् । ०७९ मा वडाध्यक्ष जितेका परबहादुर शाहीकी पत्नी नैसोभालाई माओवादीले उम्मेदवार बनाएको थियो । तर सहानुभूति मतको आशामा माओवादीले बनाएको उम्मेदवारलाई नेमकिपाका खड्गराजले पराजित गरे । प्रमुख दलहरूकै उम्मेदवारहरू हराएर चुनाव जितेपछि खड्गराजले यस्तो नतिजा स्वभाविक भएको प्रतिक्रिया दिए ।
‘मेरो जितमा अप्ठ्यारो मान्नुपर्ने केही छैन, यहाँका जनता सधैं नेमकिपाको साथमा छन्’, उनले भने । सिद्धान्तसिद्ध पार्टीलाई यहाँका जनताले निकै पहिलेबाट साथ दिदै आएको खड्गराज बताउँछन् । ‘नेमकिपाको सिद्धान्तनिष्ठ राजनीतिलाई यहाँका जनताले साथ दिइरहेका छन् । अहिलेबाट होइन, उहिलेबाट जनता हाम्रो पक्षमा हुनुहुन्छ,’ नवनिर्वाचित वडाध्यक्ष शाहीले भने, ‘२०४८ सालदेखिकै चुनावहरू पार्टीको सिद्धान्तमा उभिएर लड्दै आएका छौं ।
सांसदकै चुनावमा पनि दुई चार सय भोटले हार्छौं, तर लडिरहेका छौं ।’ तर नेमकिपाविरुद्ध संसद्वादी दलहरूले गठबन्धन गर्दा नेमकिपा सानो मतान्तरले हार्ने स्थिति आउने गरेको पनि उनले बताए । ‘०७४ सालको चुनावमा त मैले जितिहालेँ । तर संसद्वादी पुँजीवादी पार्टीहरूले हाम्राविरुद्ध अनेक हतकण्डा गर्छन् । अपवित्र गठबन्धन गर्छन्,’ शाहीले भने, ‘अस्ति पनि (०७९ को चुनाव) हाम्राविरुद्ध अपवित्र र सिद्धान्तहीन गठबन्धन भयो, र हामीले हार्नुपर्यो ।’
प्रतिक्रिया