धनगढी : कञ्चनपुरमा श्रृंखलाबद्ध रुपमा हत्या हुन थालेको छ । एक महिनाको अवधिमा एक दम्पती सहित चार जनाको हत्या भइसकेको छ । हत्यामा संलग्न रहेको आरोपमा एक महिला र एक पुरुष पक्राउ परिसकेका छन् । तर दम्पती हत्यामा संलग्नको भने कुनै अत्तोपत्तो लागेको छैन् ।
भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ज्योतीको घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हँसिया प्रहार गरेर श्रीमतीको हत्या गर्ने नरेन्द्रसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
नरेन्द्रसिंह नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) हुन् । शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।
विष्टले हत्या गरेकी ज्योती उनको कान्छी श्रीमती हुन् । बिहीबार मात्रै बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी थिइन । बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो ।
तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो । त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए । मृतक लडेको भनिएपनि उनी शौचालयको ठाउँमा नभएर केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए । मृतकको टाउकोमा काटिएको जस्तो चोटहरु देखिएका थिए ।
त्यसपछि मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । सोधपुछकै क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबीच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँट्टाले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दा खाटमुनी रगत लागेको इँटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।
उनलाई त्यसपछि नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । गत महिनाको ८ गते राति कञ्चनपुरमै एक दम्पतीको हत्या गरिएको थियो । तर हत्यामा संलग्न अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।
घटनाको अनुसन्धान गर्न सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ । सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको छ । कार्तिक ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
सोही घटनामा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अहिलेसम्म सूचना संकलन, सोधपुछ लगायतको अनुसन्धान जारी राखेको छ । प्रहरीले अहिलेसम्म २ सय बढी मानिससँग सोधपुछ गरिसकेको छ । मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए ।
गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरा सहितको नास्ता पसल चलाउँथे । उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए । हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो ।
कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको हत्या भएको खुलेको थियो । तर, घटनाको रहस्य अझै गर्भमै रहेको छ ।
प्रतिक्रिया