बाजुरा : सुदूरपश्चिममा पाँच पदका लागि हुन गइरहेको उपनिर्वाचनको सबै तयारी भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार भोली (आईतबार) विहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सबै तयारी भइसकेको छ ।
एक उपाध्यक्ष र चार वडाअध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन् । वडा अध्यक्षका लागि तीन जना स्वतन्त्र उम्मेदवार छन् ।
सुदूरपश्चिममा एक गाउँपालिका उपाध्यक्ष सहित पाँच वडा अध्यक्ष पद रिक्त रहेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट सुलोचना कुमारी भण्डारी (बुढा), नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् ।
यस्तै बझाङको सुर्मा गाउँपालिका–४ मा पनि वडा अध्यक्षको पद रिक्त छ । सो पदका लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्कर बहादुर बोहरा गरी तीन जना उम्मेदवार छन् ।
यस्तै डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा पनि वडा अध्यक्ष पद रिक्त छ । रिक्त पदमा चुनाव लड्न एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का गरेर चार उम्मेदवार छन् ।
उता दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाअध्यक्ष पद रिक्त छ । रिक्त पदमा निर्वाचन लड्न एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् ।
यता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ । सो पदका लागि सबैभन्दा बढी १२ जना उम्मेदवार छन् । एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशील कुमार भट्ट छन् ।
जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार छन् ।
प्रतिक्रिया