बाजुरा : मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उप निर्वाचनका लागि बिहीबार सर्वपक्षीय र सर्वदलीय बैठकबाट १५ वटा निर्णय गरिएको छ ।
गाउँपालिकामा हुने उप निर्वाचनमा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच वडामा खटिएका कर्मचारीहरुलाई सहयोग गर्नेका लागि बोलाईएको बैठकले उपनिर्वाचनलाई निष्पक्ष, धाँदली रहित र स्वतन्त्र वातावरण बनाएर मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई सहयोग गर्ने दलहरुले प्रतिवद्धता गरेका छन् ।
पालिकाका सबै वडामा हुने उपनिर्वाचनमा निर्वाचन आयोगबाट जारी भएका आचारसंहिता पालना गर्दै मर्यादित रुपमा निर्वाचन गराउन सहयोग गर्ने दलहरुले सहमत भएका छन् ।
बिहीबार गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मंसिर १६ गते हुने उप निर्वाचनमा पालिकाका मतदातालाई १५ गतेभित्र मात्र प्रवेश गर्न पाउने र १६ गते कुनै पनि व्यक्तिलाई पालिकामा प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।
जिल्लामा क्रियाशील सञ्चार माध्यमलाई अनिवार्य रुपमा अनुमति लिएर पालिकाका वडामा गएर समाचार संकलन गर्न पाउने र समाचार संकलनका क्रममा कुनै पनि दल वा मतदाताहरुलाई आचार संहिता विपरित कार्य नगर्न नगराउने निर्णय पनि गरिएको छ ।
निर्वाचनका क्रममा मदिरा विक्री वितरणमा कडाई गरिने भएको छ । निर्वाचनमा हात हतियार लिने, मतदानमा फर्जी मत खसाउनेलाई कानुनी कारबाही गर्ने पनि सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् ।
निर्वाचनमा पत्रकारहरुले पालिकामा चल्ने सवारी साधनहरुको अनुमति लिनुपर्ने भएको छ । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्लाका सुरक्षा निकायका प्रमुख, पालिकाका राजनीतिक दल तथा पत्रकार लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया