गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०३

स्वामीकार्तिकमा उपाध्यक्ष पद हात पार्न त्रिपक्षीय टक्कर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर १३, २०८१
स्वामीकार्तिकमा उपाध्यक्ष पद हात पार्न त्रिपक्षीय टक्कर

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ। सो पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूको दौडधुप बढेको छ। भोली राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। अहिले तीन जना महिला उपाध्यक्ष पदका उम्मेदवार छन्।

आफ्नो उम्मेदवार जिताउन केन्द्रदेखि स्थानीय तहका नेताकार्यकर्ता मत माग्न पालिका केन्द्रित बनेका छन्। माओवादी केन्द्रले राजुकुमारी विश्वकर्माको उम्मेदवारी फिर्ता लिएर एमालेकी सुलोचना भण्डारी बुढालाई समर्थन गरेको छ। यसबाट एमाले थप उत्साहित बनेको छ।

२०७९ सालको चुनावमा एमाले उम्मेदवार १७३ मतान्तरले नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। उपाध्यक्ष जितेकी मैनादेवीको निधन भएपछि रिक्त रहेको पदका लागि उपचुनाव हुन लागेको हो। माओवादीले समर्थन गरेपछि आफ्नो जित निश्चित भएको एमालेबाट उम्मेदवार बनेकी सुलोचनाले दाबी गरेकी छन्।

कांग्रेसले भने आफ्नो जित जोगाउने दाबी गर्दै आएको छ। उपचुनावमा कांग्रेसले पुल्तीसरा शाहीलाई अघि सारेको छ। कांग्रेस बाजुरा प्रदेश क्षेत्रीय समिति सदस्य समेत रहेकी शाहीले गरिब, दलित, महिला, बालबालिका र वृद्धवृद्धाको हित गर्नु आफ्नो मुख्य काम हुने बताएकी छन्।

अघिल्लो चुनावमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष जितेकाले पनि कांग्रेस बलियो रहेको उनको दाबी छ। कांग्रेस र एमालेका उम्मेदवारलाई चुनौती दिनेगरी एकीकृत समाजवादीकी जवा शाही पनि मैदानमा छन्।

पुरानो र राजनीति बुझेका नेताको पार्टी भएकाले मतदाताले जवालाई जिताउँने सो पार्टीका नेताकार्यकर्ताको दाबी छ। सो पालिकामा एमाले, कांग्रेस र एकीकृत समाजवादीमध्ये कसले बाजी मार्छ भन्नेमा अहिले नै एकीन गर्न नसकिने पुराना राजनीतिज्ञहरु बताउँछन्।

प्रतिक्रिया