गाैमुल खबर डटकम बुधबार १२, मङि्सर २०८१ ०९:४२

युवा सबै विदेशमा, सुनसान गाउँघर

बाजुरा
रमित वि.क.
बुधबार, मङि्सर १२, २०८१
युवा सबै विदेशमा, सुनसान गाउँघर

बाजुरा : दिन प्रतिदिन जिल्लामा बेरोजगारीको संख्यामा वृद्धि भएसँगै बालबच्चा पढाउन र दैनिक घर खर्च जोहो गर्नका लागि युवाहरू भारततीर लागेका छन् ।

युवा, युवतीहरू भारतको ब्याङ्गलोर, नैनिताल, हिमाञ्चल प्रदेश, बम्मई, कलकत्ता लगायतका ठाउँमा कामको खोजीमा हिँडेपछि बाजुराका गाउँ बस्ती सुनसान देखिन्छन् ।

जिल्लाका अधिकांश गाउँ घरमा बिरामी, बुढाबुढी र महिला मात्र भेट्न सकिन्छ । युवाहरुको घरमा श्रीमती र छोरा छोरी छोडेर भारत जान बाध्यात्मक स्थिति हुने एउटै कारण हो गरिबी ।

बाजुरालीलाई आफ्नो खेतीपातीले छ महिनासम्म मुस्किलले गुजारा गर्न सकिने र बाँकी ६ महिना ज्याला मजदुरी गरेर घर खर्च धान्नुपर्ने बाध्यता धेरैको रहेको छ । जिल्लामा बेरोजगारीको समस्या चरम बनिरहेको छ ।

त्यसैले पछिल्लो समय रोजगारीको कुनै अवसर नहुँदा बाध्यात्मक स्थितिमा युवा युवतीहरू भारतका विभिन्न शहर पस्न बाध्य बनेका हुन् । रोजगारीका लागि भारत जानेहरूमा धेरै जसो आर्थिक अवस्था कमजोर भएका दलित समुदायका मानिसहरू धेरै छन् ।

गाउँमा बसेर केही समस्या समाधान नहुने भएपछि गौमुल गाउँपालिका–४ डाँडाबाडाका अमर विक सहित विक दम्पती भारत गएका छन् । घरमा भएका बुढा बुबालाईसंगै लिएर उनीहरु भारत प्रस्थान भएका हुन् ।

‘केही कमाउला र उपचार पनि गरौँला बुबा लिएर भारत पसे, गाउँमा बालबच्चाको रेखदेख गर्ने मान्छे नै छैनन्, यो हामीहरूको बाध्यता हो’ विकले गुनासो गरेका छन् ।

बडीमालिका नगरपालिका–१ नुवाकोटका जय विक पनि घरमा आर्थिक समस्या भएपछि बालबच्चा पढाउन कै लागि भएपनि आफू रोजगारीको खोजीमा भारत जान लागेको बताएका छन् ।

समस्या असीमित छन्, गाउँमा बस्ने आधार छैन् त्यसैले सिंगो युवाहरु कालापहाड तिर जान थालेका हुन् । पछिल्लो समयमा जिल्लामा आर्थिक संकट हुन थालेपछि युवाहरु सबै गाउँ छोड्न थालेका छन् ।

सयौँ युवाहरू पढाइ अनुसारको रोजगारी नपाएपछि वैदेशिक रोजगारी गएका छन् भने अन्य युवाहरु सबै भारततिर लागेका छन् । ‘जिल्लामा रोजगारी छैन, के गरेर घर चलाउनु,’ भारत जाने युवाहरुको गुनासो छ ।

जिल्लाका ९ वटै स्थानीय तहका गाउँबस्ती विस्तारै रित्तिन थालेका छन् । स्थानीय सरकारसंग वर्षेनी विदेशीने युवाहरुको आधिकारिक तथ्याङ्ग भने राखेको पाईदैन्, भने बेरोजगारीको अन्त्य गर्ने कुनै योजना समेत छैन् ।

यतिबेला युवा देखि उमेर घर्किन लागेकाहरु सबै भारत पस्न थालेपछि मलामी र बिरामी बोक्ने समेत नपाउने अवस्थाको सिर्जना भएको छ ।

भोट माग्ने बेला आश्वासन बाड्ने नेताहरु चुनाव जितेपछि फर्केर गाउँ समेत फर्केका छैनन् । देशमा रोजगारीको अवस्था सिर्जना हुन नसक्दा धमाधम युवाहरू विदेश गएसँगै गाउँ बस्ती सुनसान बनेका छन् ।

गाउँमा बिरामी पर्दा होस् की मान्छेको मृत्यु हुदाँ होस् बोक्ने युवाहरु शुन्य अवस्थामा रहेका छन् । गाउँमा बुढापाका, महिला, बालबच्चा, बिरामी मात्र रहँदा बस्तीहरूमा सधैँ जसो हुने चहल पहलमा कमी आएको छ । धेरै जसो बस्तीहरू सुनसान बनेका छन् ।

प्रतिक्रिया