गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:२०

भारतको भरमा बदेडाकाे दलित बस्ती

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर ०६, २०८१
भारतको भरमा बदेडाकाे दलित बस्ती

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवारलाई पुस्तौँदेखि  अहिलेसम्म भारतकै भरमा बाँच्नु परेको छ । गाउँमा गरेर खाने केही व्यवस्था नभएपछि यो बस्तीका दलित परिवारले पुस्तौँदेखि अहिलेसम्म भारतकै रोजगारीको भरमा बाँच्नु परेको हो ।

गाउँमा गरी खाने केही उपाय नभएपछि अहिले भारतमा रोजगारी गरेर छोराछोरी पाल्ने गरेको बुढीगंगा नगरपालिका–१० का स्थानीय रूपबहादुर सार्कीले बताएका छन् । उनले भने, “गाउँमा खेती लगाउँ भने पनि केही जमिन त छ तर त्यो जमिनमा सिँचाइको सुविधा नहुँदा सधैँ बाँझो राख्नु पर्छ ।”

पहिला हजुरबुबा र बुबाले पनि यसरी नै भारतमा बसेर हामीलाई हुर्काए । अहिले हामीले पनि भारतमै बसेर गाउँमा छोराछोरी पाल्नु परेको सार्कीले बताउनुभयो । बुढीगंगा नगरपालिका–१० को बदेडा बस्तीमा झन्डै ५० भन्दा बढी दलित परिवार छन् ।

यहाँ यो बस्तीमा ४० परिवार सार्की, १३ परिवार विक र दुई परिवार नेपाली बसोबास गर्दै आएका छन् । अहिले यो बस्तीका झन्डै १५० जना युवा भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् ।

उनीहरू दसैं तिहारको बेला गाउँ फर्किने र त्यसपछि रोजगारीका लागि फेरि भारतमै जाने गरेको सार्कीले बताए । यो दलित बस्तीमा दुई तीन जना भारतमा नभएको कुनै घर बाँकी छैन् ।

दसैं तिहार असारमा खेती लगाउने बेला केही युवा गाउँमा देखिए पनि त्यसपछि भने गाउँमा कोही युवा भेटिदैनन् । यहाँका दलितको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनीहरूका छोराछोरीले उच्च शिक्षा पढ्न समेत सकेका छैन् ।

यो बस्तीका बालबालिकाले १ कक्षादेखि १० सम्म पढ्ने र त्यसपछि उनीहरू पनि कामको खोजीमा अभिभावकसँगै भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । यो बस्तीमा अहिलेसम्म एक जना पनि कुनै सरकारी सेवामा कार्यरत छैन् ।

यहाँका अधिकांश युवा अहिले भारतका विभिन्न होटेलमा काम गरिरहेका छन् । उनीहरूले त्यहाँबाट पठाएको पैसाले गाउँमा परिवारले बिहान बेलुकीको छाक टार्नुपर्ने बाध्यता रहेको छ । 
 

प्रतिक्रिया