बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त रहेको छ । रिक्त पदमा छुट्टाछुट्टै पार्टीबाट तीन महिला उम्मेदवार चुनावी मैदानमा छन् । आफ्नो उम्मेदवार जिताउन अहिले नेताहरुबीच दौडधुप बढेको छ । उक्त पालिकामा नेता कार्यकर्ताले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो ।
उपनिर्वाचनमा आफ्नो उम्मेदवार जिताउन केन्द्रदेखि जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्ला केन्द्रीत भएर प्रचारप्रसारमा जुटेका छन् । नेपाली काँग्रेसका नेता तथा निवर्तमान सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, पूर्वराज्यमन्त्री जनकराज गिरी, प्रदेश सभा सदस्य पदम शाही, जुना दानी नेपाली काँग्रेसका उम्मेदवारको चुनावी प्रचारप्रसारमा लागेका छन् ।
यस्तै एमालेका पक्षमा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा, निर्वतमान प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रतिनिधि सभा सदस्य दयालबहादुर शाही लगायत नेता चुनावी घरदैलोमा केन्द्रीत छन् ।
त्यस्तै समाजवादीले पनि सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री नरेश शाही र माओवादी केन्द्रका पूर्वराज्यमन्त्री कर्णबहादुर विक लगायतका नेता चुनावी प्रचारमा खटिएका छन् ।
यसअघि पाँचवटा दलले उम्मेदवारी दर्ता गराएका थिए । बाजुराका ९ स्थानीय तह मध्ये स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको निधन भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
नेपाली काँग्रेसबाट पुल्तीसरा शाही, एमालेबाट सुलोचना भण्डारी बुढा, एकीकृत समाजवादीबाट जवा शाही उपाध्यक्ष पदका लागि उम्मेदवार हुन् ।
उता माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका राजु कुमारी विक र सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भएका छन् ।
प्रतिक्रिया