गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:२१

उपनिर्वाचनका लागि चुनावी प्रचार प्रसारमा दलहरु व्यस्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर ०५, २०८१
उपनिर्वाचनका लागि चुनावी प्रचार प्रसारमा दलहरु व्यस्त

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् ।आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफ्नो पक्षमा मतदान गराउनका लागि दलहरु लागेका छन् ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा दलहरुले चुनावी प्रचार तीव्र पारेका छन् । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेसँगै राजनीतिक दलहरु प्रचार प्रसारमा जुटेका हुन् ।

स्वामीकार्तिकमा हुने उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, एकिकृत समाजवादी, माओवादी केन्द्र, राप्रपाले निर्वाचनमा भाग लिने भएका छन् । मंसिर २ गते मनोनयन दर्ता गराएसंगै दलहरु प्रत्यक्ष जनताको घरदैलोमा भेटघाट गर्ने गरी प्रचारमा जुटेका छन् ।

मंगलबार नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेकी शुलोचना भण्डारी (बुढा) को टोलीले समेत प्रचार प्रसारलाई तीव्र पारेको एमाले प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।

त्यस्तै नेपाली काँग्रेसले पनि चुनाव प्रचार प्रसारलाई तीव्र पारेको छ भने समाजवादी भने यसअघि नै चुनाव प्रचारप्रसार सक्रिय बनेको थियो ।

०७९ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेस एमाले सत्ता गठबन्धन भए पनि यहाँ दुवै पार्टी एक आपसमा भिड्ने भएका छन् । २०७९ को निर्वाचनमा एमाले काँग्रेस प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी हुन् ।

  त्यस्तै माओवादी केन्द्रका सुरेश बहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।

नेकपा एमालेले शुलोचना कुमारी भण्डारी (बुढा)लाई, नेपाली काँग्रेसले कुन्तीसरा शाही र नेकपा माओवादी केन्द्रले राजु कुमारी विक र एकिकृत समाजवादीका जवा शाही र राप्रपाका सुनादेवी थापा भोटे (धामी) चुनाव भिड्ने भएका छन् ।

प्रतिक्रिया