गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:१४

निर्मला पन्त हत्या प्रकरण : एआईजी थापाको नेतृत्वमा नयाँ समिति

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक २९, २०८१
निर्मला पन्त हत्या प्रकरण : एआईजी थापाको नेतृत्वमा नयाँ समिति

धनगढी : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको छ। पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो।

नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका आवश्यक निचोडहरूलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले सात सदस्यीय समिति गठन गरिएको बताए। उनले भने, ‘गृहमन्त्री ज्यू आएपछि नयाँ समिति बनेको हो। एआईजी सापको नेतृत्वमा सात सदस्यीय समिति बनेको छ। पुराना प्रतिवेदनको अध्ययन हुँदैछ। स्थलगत अनुसन्धानको काम पनि हुने छ। लामो समयदेखि अनुसन्धान पूर्ण नभएकाले काम सक्न निर्देशन छ।’

निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न विभिन्न समिति बनाएर जाँच गर्दा पनि सफल अनुसन्धान नभएकाले विगतका प्रतिवेदनको अध्ययन गरेर अनुसन्धानलाई एकीकृत गरी यथाशीघ्र निष्कर्षमा पु¥याउन समिति गठन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका हुन। तर, समिति गठनको विषयलाई गोप्य राखेर काम हुँदै थियो। एक टेलिभिजनमा पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता सार्वजनिक भएपछि समितिले अध्ययनको कामलाई थप तीव्रता दिएको छ।

‘अहिलेसम्म भएका अनुसन्धानका राम्रा पाटाहरूलाई केलाएर छानबिन गर्ने काम अहिले पनि निरन्तर छ’, सीआईबीका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘त्यहीबिच प्रत्यक्षदर्शी भन्दै भ्रम फैलाउने गरी अन्तर्वार्ता दिएपछि गोरखाका नवराज अर्याल र पत्रकार ऋषि धमलालाई पनि सोधपुछका लागि बोलाएका थियौँ।’ उनले मादकपदार्थ सेवन गरेर टेलिभिजन अन्तर्वार्ता दिएको सिआइबीको दाबी छ।

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। केही दिनपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै स्थानीय ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। तर, त्यसबेला विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रदर्शन चर्किएको थियो।

पछि पन्तको भजाइनल स्वाबबाट निकालिएको नमुनासँग उनको डीएनए मिलेन। त्यसपछि उनी छुटेका थिए। त्यसयता प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। बरु चिकित्सकहरूको एउटा अध्ययन टोलीले निर्मलाको भजाइनल स्वाबबाट निकालिएको भनिएको डीएनएको नमुनामाथि नै प्रश्न उठाएको छ।

 

प्रतिक्रिया