बाजुरा : अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तर पुस्तिका निरीक्षकले उत्तर पुस्तिका जाँचमा लापरबाही गर्ने गरेको भन्दै अनेरास्ववियुले अध्यक्ष शर्माको ध्यानाकर्षण गराएको हो ।
खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तर पुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तर पुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भए पछि अनेरास्ववियुले सो विषयमा चासो राखेको हो ।
अनेरास्ववियुले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागी निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थी मध्य ८ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ ।
ती मध्ये २ सय जना विद्यार्थीले कपि हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तर पुस्तिका हेरेका संगठनले जनाएको छ । विज्ञले फकाएर कपि पुनः परीक्षण नगर्न दबाब दिँदा दिँदै १६ जना विद्यार्थीले कपि पुन परीक्षणको लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तर पुस्तिका पुन: परीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।
यो तथ्यांकले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाहरू कति गैर जिम्मेवार छन् र विद्यार्थीको भविष्यसँग कसरी खेलबाड गरिरहेका छन् भन्ने प्रष्ट भएको अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोले वेबसाइट प्रभावकारी बनाउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया