गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:०४

कोल्टीमा २५ शैयाको अस्पताल निर्माणको तयारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक २६, २०८१
कोल्टीमा २५ शैयाको अस्पताल निर्माणको तयारी

बाजुरा : कोल्टीमा २५ शैया क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण तयारी थालिएको छ । अमेरिकन संस्थासँगको सहकार्यमा अस्पताल निर्माण गर्न पहल थालिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताएका छन् । हाल प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी १५ सैया क्षमताको छ । स्थानीय तहको मातहतमा रहेर सञ्चालन भइरहेको अस्पताललाई यसैवर्षबाट प्रदेश सरकार मातहतमा सञ्चालन गर्ने नीति बनाएको छ ।

नीति बनाएपनि निर्णय सहीत कार्यान्वयन भने भएको छैन् । कुण्डा क्षेत्रका चार वटा स्थानीय र छिमेकी हुम्ला, मुगु, कालिकोट जिल्लाका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पताल निर्माणको पहल थालिएको हो ।

कोल्टी बाजुराको सदरमुकाम मार्तडी पछिको ठूलो व्यापारी केन्द्र हो । भने विमान स्थल र भूबनावटले पनि कोल्टी बाजुराका चार पालिका सहीत छिमेकी तीन जिल्लाका १३ वटा स्थानीय तहका १ सय ३५ बढी वडाको प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने गरेको छ ।

सुर्खेत नेपालगञ्ज जानुपर्ने, हवाइ सहीतको महँगो भाडा तिर्नु पर्ने र दुरी लामो हुँदा बीचमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न पहल थालिएको हो । २५ शैया क्षमताको अस्पताल निर्माण गर्न सके कुण्डा क्षेत्र र छिमेकी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने देखिएको छ ।

सुविधा सम्पन्न अस्पताल निर्माण पछि पालिका स्तरमा थप स्वास्थ्य कर्मीको दरबन्दी राख्न र प्रत्येक पालिकाले डाक्टर नियुक्तीलाई ठूलो आर्थिक भार बेहोर्नु पर्ने बाध्यता अन्त्य हुने देखिन्छ । अस्पताल निर्माणकै लागि छलफल गर्न बुढीनन्दा नगरपालिकाको संयोजनमा १७ पालिकाका प्रमुखसहीतको भेला कोल्टीमा गरिएको छ ।

सहयोग गर्ने बाचा दिएको जिइआइ अमेरिकाको टिमसँग संभावना र अवसर बारे छलफल गरिएको छ । प्रदेश सभा सदस्य पूर्व मन्त्री नरेश कुमार शाही, पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी सहीतका नेताहरुको उपस्थितिमा छलफल गरिएको हो । बार्षिक २० हजारको संख्याको विरामीले अहिलेको अवस्थामा पनि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट सेवा लिने गरेका छन् ।

३ सय बढीको संख्याले सुत्केरी सेवा मात्रै लिएको अवस्था छ । हुम्लाको सिमिकोट देखि मुगुको खत्याड, कालिकाको पातलझरना सहीतका पालिकाका नागरिकलाई कोल्टीमै अस्पताल बन्दा धेरै फाइदा हुने देखिन्छ । कोल्टी विमान स्थलको सेवा लिन आउनेहरुले उपचारका लागि पनि थप सहज हुने र दुरीका हिसाबमा पनि नजिक पर्ने संभावना देखिन्छ ।

मुगु, हुम्ला र कालिकाकोटका १३ बढी स्थानीय तहका नागरिकलाई दुरीमा पनि नजिक पर्ने भएकोले अस्पताल आवश्यक देखिएको पूर्व प्रदेश मन्त्री नरेश कुमार शाहीले बताएका छन् । अस्पताल आफ्नै लगानीमा पालिका सरकारसँगको सहकार्यमा निर्माण गरिने वाचा अमेरिकी संस्था जिइआइले दिएको छ ।

संस्थाको प्रतिनिधी मण्डल नै आएर स्थानीय पालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, अन्तरपालिकाका जनप्रतिनिधी र कुण्डा क्षेत्रका सरोकारवालासँग पनि छलफल र अन्र्तक्रिया गरेको छ ।

सुविधा सम्पन्न अस्पताल नहुँदा जटिल खालका विरामीलाई जिल्ला वाहिर पठाउनु परेको र अस्पताल निर्माणसँगै समस्या हल हुने विश्वास बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताएका छन् । हाल कोल्टी अस्पतालले २ लाख बढी जनसंख्या भएको क्षेत्रलाई सेवा दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया